सिफारिस

बद्री कुन्ता मेमोरियल ट्रस्टका सदस्य जोशीद्वारा बर्दगोरियाका खेलाडी र खेलमैदानको अवलोकन (तस्बिरमा हेर्नुहोस)

बर्दगोरिया । कैलाली जिल्ला फुटबल संघको आयोजना तथा बद्री–कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा यही पुस १८ देखि २६ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुने बद्री–कुन्ता स्मृति जिल्ला स्तरीय यू–१६ स्मार्ट जेनेरेसन च्याम्पियनसिप–२०२६ का लागि कैलालीका फुटबल क्लबहरू तयारीमा जुटिरहेका छन् ।
यसै सन्दर्भमा बिहीबार बद्री–कुन्ता मेमोरियल ट्रस्टका अध्यक्ष कमला जोशी, संस्थापक सदस्य गोकर्ण जोशीसहितको टोलीले बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्स का यू–१६ खेलाडी तथा खेलमैदानको अवलोकन गरेको छ ।
टोलीलाई बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष प्रमोद मल्ल र बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मिथुन गौतमले माला लगाएर स्वागत गर्नुभएको थियो ।
अवलोकनका क्रममा गोकर्ण जोशीले युवा खेलाडीहरूको सक्रियता देखेर खुशी लागेको बताउँदै कैलालीको फुटबल विकासका लागि आफ्नो संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पालिकास्तरबाट खेलाडी उत्पादन गरी जिल्ला, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा प्रवक्ता मिथुन गौतमले प्रतियोगिताले खेलाडीको पहिचान गराउनुका साथै सानै उमेरदेखि खेलप्रति रुचि बढाउने भएकाले पालिकाको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै बर्दगोरिया स्पोर्ट्स क्लबका अध्यक्ष प्रमोद मल्लले खेलाडी छनोटका क्रममा बद्री–कुन्ता मेमोरियल ट्रस्टको टोलीको उपस्थितिले यू–१६ खेलाडीहरूमा हौसला, प्रेरणा र सकारात्मक ऊर्जा थपिएको बताउनुभयो ।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यस प्रतियोगितामा पहिलोपटक जिल्लाका विकट क्षेत्र चुरे र मोहन्याल गाउँपालिका का टोलीहरू सहभागी हुँदैछन् । प्रतियोगितामा टिकापुर, लम्कीचुहा, भजनी, जानकी, जोशीपुर, बर्दगोरिया, घोडाघोडी, गौरीगंगा, कैलारी, गोदावरी र धनगढीसहित १३ टोलीको सहभागिता रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?