कैलाली । कुनै समय कैलालीको घोडाघोडी क्षेत्रका गाउँ बस्तीहरू साँझ पर्ने बित्तिकै अन्धकारमा डुब्थे । राजमार्गका मुख्य बजारहरू झलमल्ल हुँदा पनि मात्र २ किलोमिटर भित्रका गाउँमा टुकीको मधुरो प्रकाशमा बालबालिकाले पढ्नुपर्ने बाध्यता थियो । तर, आज दृश्य बदलिएको छ । १० हजारभन्दा बढी घरधुरीमा विद्युतीय बत्ती बल्दा त्यसको केन्द्रमा एउटा नाम गर्वका साथ लिइन्छ— भीम बडुवाल ।
वि.सं. २०६५ सालतिर सरकारी प्रयासले मात्र गाउँमा बिजुली पुग्ने छाँटकाँट थिएन । “हाम्रो गाउँमा कहिले बत्ती बल्ला ?” भन्ने प्रश्नको उत्तर खोज्दै बडुवालले स्थानीयलाई गोलबद्ध गरे । २०६६ सालमा घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड स्थापना गरी उनले नेतृत्व सम्हाले ।
उनको यात्रा सहज थिएन । तत्कालीन सरकारी नीति अनुसार विद्युत् विस्तारका लागि ८० प्रतिशत लागत सरकार र २० प्रतिशत उपभोक्ताले बेहोर्नुपर्ने प्रावधान थियो ।

तत्कालीन निर्वाचन क्षेत्रमा पर्ने तराइका ८ सहित पहाडी क्षेत्रका मोहन्याल र पण्डौन गाविसमा पनि बत्ती पु¥याउने बडुवालको लक्ष्य थियो । तर पहाडको जटिलताले तराइका ८ गाविसमा मात्रै पहिला बत्ती पु¥याउने लक्ष्य राखियो । प्राधिकरणले ५ भन्दा बढी गाविसमा विद्युत् सहकारीको कार्यक्षेत्र विस्तार गर्न नपाइने नीतिका कारण साबिक उदासीपुर, पहलमानपुर, रामशिखरझाला, दरख र साडेपानी गाविस गरी ५ वटा गाविस छनौट गरिएको थियो । यी ५ वटा गाविसका लागि १८ करोडको लागत अनुमान गरिएपछि उपभोक्ताले बुझाउनुपर्ने ३ करोड ६० लाख रुपैयाँ सङ्कलन गर्नु पहाड चढे जस्तै कठिन थियो ।
बडुवाल केवल गाउँमा मात्र सीमित रहेनन् । उनले मन्त्रालय र विद्युत् प्राधिकरणका ढोकाहरू ढकढक्याउन छाडेनन् । अन्ततः २०६८ सालमा सरकारले नयाँ नीति पास ग¥यो । ९० प्रतिशत सरकार र १० प्रतिशत उपभोक्ताको लगानी । यो नीति ल्याउन बडुवाल जस्ता अभियन्ताहरूको ठुलो भूमिका रह्यो ।
विद्युत् सहकारीले छनौट गरेका ५ गाविस मध्ये साडेपानीबाट कामको सुरुवात गरिएको थियो । यो गाविसको लागि ३ करोड ५० लाख लागतको आयोजना थियो । जनताबाट १० प्रतिशतका दरले उठाएर प्राधिकरणको खातामा जम्मा गर्नु पर्ने ३५ लाख सङ्कलन समयमै भयो ।
विद्युतीकरणको यात्रा सजिलो थिएन । ठेकेदारको ढिलासुस्तीका कारण बडुवालले अनेक लाञ्छना र आरोपहरू खेप्नुप¥यो । तर आरोप–प्रत्यारोपका बिच पनि विचलित नभई उनले काम अघि बढाए । “रकम हिनामिना भयो” भन्ने जस्ता आरोपहरू लगाइए पनि बडुवाल विचलित भएनन् । अन्ततः २०७२ जेठमा साडेपानीका २८ सय घरधुरीमा बत्ती बल्यो । त्यसपछि पनि उनको उज्यालो अभियान रोकिएन । उनले अन्य ४ वटा गाउँ परिषदबाट ४० लाख रुपैयाँ विनियोजन गराई ती ४ गाविसमा पनि काम अघि बढाए । आज साबिकका साडेपानी, दरख, रामशिखरझाला, पहलमानपुर र उदासीपुरका १० हजारभन्दा बढी घरधुरी बडुवालको त्यही साहस र दृढताका कारण झलमल्ल छन् ।
विद्युत् सहकारीमार्फत गाउँलाई अँध्यारोमुक्त बनाउने भीम बडुवालको सङ्कल्प अहिले परिणाममा बदलिएको छ । स्थानीय बासिन्दाहरू भन्छन्, “जसले अँध्यारोमा बत्ती बाल्ने हिम्मत ग¥यो, उसैले विकासको नयाँ बाटो देखाउन सक्छ।” टुकी विस्थापित गरेर विद्युत्को उज्यालो ल्याउने उनको यो सफल मोडेललाई अब उनी कैलाली क्षेत्र नम्बर ३ को समग्र विकासमा उतार्न चाहन्छन् ।
“सकारात्मक पहलकदमीले सफलता हात पार्न सकिन्छ भन्ने उदाहरण हामीले देखाइसकेका छौँ ।” बडुवाल भन्छन्,… “अबको मेरो लक्ष्य यो क्षेत्रलाई आर्थिक र सामाजिक रूपमा उज्यालो बनाउनु हो ।”सरकारी निकायको ढिलासुस्ती र नीतिगत अस्पष्टतालाई चिर्दै जनताको पक्षमा काम गरेका बडुवालको चुनावी उम्मेदवारीले अहिले कैलालीमा नयाँ उत्साह थपेको छ । अहिले तिनै “उज्यालोका अभियन्ता” भीम बडुवाल कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन् ।


