स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पहिलो बन्यो घोडाघोडी

बर्दगोरिया । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा कैलालीको घोडाघोडी नगरपालिका पहिलो भएको छ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  सार्वजनिक गरेको आथिर्क वर्ष २०८०/०८१ को  स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा कैलालीका १३ वटा स्थानीय तहमध्ये ९५.२५ प्रतिशत अंकसहित घोडाघोडी नगरपालिका जिल्लाकै पहिलो भएको हो। नगरपालिकाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन,वार्षिक बजेट तथा योजना व्यवस्थापन, सेवाप्रवाह ,सामाजिक समावेशीकरण र न्यायिक कार्यसम्पादनमा शतप्रतिशत अङ्क ल्याएको छ । यसैगरी वित्तीय तथा आर्थिक व्यवस्थापनमा ९०.९१, भौतिक पूर्वाधारमा ८४.६२,वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८३.३३, तथा सहकार्य र समन्वयमा ९५.९३ प्रतिशत अंक ल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

विवरणअनुसार जिल्लाको चुरे गाउँपालिका ९१.२५ प्रतिशत अङ्कसहित दोस्रो ,धनगढी उपमहानगरपालिका ९० प्रतिशत अङ्क ल्याउदै तेस्रो ,बर्दगोरिया गाउँपालिका ८९.२५ प्रतिशत अङ्कसहित चौथो स्थानमा छ्न ।

गोदावरी नगरपालिका ८५.५ प्रतिशत अङ्क ल्याउदै छैटौं ,गौरीगङ्गा नगरपालिका ८४.२५ प्रतिशत अङ्क सहित सातौ, भजनी नगरपालिका ७६.५ प्रतिशत अङ्क सहित आठौं ,टीकापुर नगरपालिका ७३.२५ प्रतिशत अङ्क सहित नवौ, जोशीपुर गाउँपालिका ७३.५ प्रतिशत अङ्क सहित दशौ स्थानमा छ्न भने लम्कीचुहा नगरपालिकाले ७३ प्रतिशत अङ्क सहित एघारौं, मोहन्याल गाउँपालिका ७१.५ प्रतिशत अङ्कसहित बाह्रौ र ७० प्रतिशत अङ्क प्राप्त गरेको कैलाली गाउँपालिका तेरौ स्थानमा छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा विभिन्न १० वटा सूचकमा एक सय प्रश्नहरू हुन्छन् । विभिन्न सूचकमा ९ देखि १६ अङ्कसम्म पूर्णाङ्क तोकिएको हुन्छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्त सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतका कानुनले स्थानीय तहको कार्य जिम्मेवारी तोकेका विषय, कार्यविधि र उपलब्धिका बारेमा लेखाजोखा गर्न स्वमूल्याङ्कन गर्ने गरिएको छ ।

स्थानीय तहको सबल दुर्बल पक्षहरूको विशेषण गर्ने प्रायोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्वमूल्याङ्कनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी आ–आफ्नो वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गर्नु पर्ने कार्यविधिमा उल्लेख छ ।