पश्चिम नेपालमा आज दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं । देशका धेरै स्थानमा आज वर्षाको सम्भावना रहेको छ । काठमाडौंलगायत केही स्थानमा हिजोबाट लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईलगायत देशको पहाडी भूभागका केही स्थानमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।विभागले राति देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने बताएको छ ।

गण्डकी प्रदेशको पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा र मधेस प्रदेशलगायत बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको छ । यसले मनसुन नेपालको पूर्वी भूभागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने पूर्वानुमान रहेको विभागले बताएको छ ।