नोवेल स्कुलद्वारा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मान

बर्दगोरिया । राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा  नम्बर १ मा रहेको नोवेल माध्यमिक विद्यालयले मंगलबार २०८१ सालको कक्षा १२ को परीक्षामा बर्दगोरिया गाउँपालिका तथा यस क्षेत्रमै प्रथम स्थान हासिल गर्ने तथा उत्कृष्ट जीपीए ल्यायर उतिर्ण हुने विद्यार्थीलाई सम्मान गरेको हो ।

विद्यालयमा आयोजित एक भव्य समारोहका बीच विद्यार्थीहरूलाई नगद पुरस्कार, टीका र खादा लगाएर सम्मान गरिएको हो । २०८१ सालको कक्षा १२ को परीक्षामा विद्यालयका छात्र सन्दिप स्वारले ३.७६ जीपीए (A+) ल्याउदै बर्दगोरिया गाउँपालिका तथा यस क्षेत्रमै पहिलो बनेका थिए । यसैगरी ७ जनाले A, १९ जनाले B+, ३३ जनाले B, र १८ जनाले C+ नतिजा ल्याउन सफल भएका थिए । 

बधाई तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी र विशिस्ट अतिथि वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले बर्दगोरिया गाउँपालिका तथा यस क्षेत्रकै पहिलो स्थान ल्याउन सफल विद्यार्थी सन्दिप स्वारलाई जनही नगद ५ हजार र अन्यलाई दुई/दुई हजार नगदसहित सम्मान गरे ।

विद्यालयका संस्थापक सुरेश खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष गिरिले नोवेल स्कुलले समग्र बर्दगोरियाको शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै विद्यालयको मुख्य ध्येय शैक्षिक उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गरेकोमा विद्यालयलाई धन्यवाद व्यक्त गरे ।उनले एसईई परीक्षामा समेत पालिकामै अग्रणी नतिजा ल्याउन सफल बनेको नोवेल माध्यमिक विद्यालयले कक्षा १२ मा समेत यस क्षेत्रमै उत्कृष्ट नतिजा ल्याएकोमा धन्यवाद दिदै विद्यार्थीको उज्ज्वल भविस्यको कामना गरे ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक मिथुन गौतमले बर्दगोरियाबासीको दिगो विकास र समृद्धिको सपना साकार पार्न गुणस्तरीय शिक्षा, नवीनतम शिक्षण पद्धति, प्राविधिक प्रयोग, र विद्यार्थी, अभिभावक तथा शिक्षकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छ्न ।