काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।
बजार मागको बेवास्ता गर्दै अत्यन्तै न्यून मात्रामा सुनको आपूर्ति हुँदै आएकाले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासङ्घले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न आग्रह गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीसँग मङ्गलबार सिंहदरबारमा भेट गरी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधि टोलीले कच्चा सुनको न्यून आपूर्तिले बजारमा परेको प्रभावका बारेमा जानकारी गराएको हो । सल्लाहकार सुवेदीले यस विषयमा सम्बन्धित निकायमार्फत पहलकदमी अगाडि बढाइने आश्वासन दिनुभयो ।
पछिल्लो समयमा दैनिक १० केजी सुन वैधानिक तरिकाबाट आपूर्ति हुँदै आएको छ । विगतका वर्षमा सिजनको समयमा दैनिक २५ किलो सुन आयात हुन्थ्यो । महासङ्घका अध्यक्ष शाक्यले दशैंका बेला बजारमा सुनको माग बढेकाले त्यसको अभाव रहेको बताउनुुभयो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।