बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को दानुवाफाटामा मुक्त कमैयाहरुको लागि निर्माण गरिएका घरहरू हस्तान्तरण गरिएको छ । सुरक्षित आवास परियोजना अन्तर्गत ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र सुदूरपश्चिम प्रदेश सरकारको लागत साझेदारीमा निर्माण गरिएका १२ वटा घरहरु शुक्रबार हस्तान्तरण गरिएको हो । सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री वीर बहादुर थापाले स्थानीयलाई घरको चाबी हस्तान्तरण गरेका हुन ।सो क्रममा उनले मुक्त कमैयाहरुलाई सुरक्षीत आवश प्रदान गर्नका लागि प्रदेश सरकार लागि परेको भन्दै यसवर्ष पनि थप घर निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । उनले मुक्त कमैया, मुक्त कम्लहरीहरुको समस्या समाधानका लागि प्रदेश सरकारले यहाँका सबै स्थानीय तहका प्रमुखसङ्ग छलफल गरि आवश्यक गृहकार्य अगाडि बढाउने प्रतिबद्धता जनाए । कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले यहाँका भुमिहीन सुकुम्बासी ,मुक्त कम्लहरीको समस्या समाधानका लागि आफू अहोरात्र लागिपरेको भएपनी सरकारी कामकारबाहीको कारण केही ढिलाइ र समस्या हुँदै गएको बताए । उक्त मुक्त कमैयाका बस्तीमा रहेका ४२ घर घुरी मध्य १२ घर निर्माणका लागि ८० लाख ९४ हजार ५ सय ९४ रुपैयाँ खर्च भएको जनाइएको छ। सुरक्षित आवास परियोजना अन्तर्गत सो बस्तीमा घर निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३७ लाख ३३ हजार ३ सय ३२, ह्याबिट्याट फर ह्युमिनिटी र राष्ट्रिय दलित नेटवर्कले २७ लाख ७७ हजार २ सय ६२ खर्च गरेका छन् भने स्थानीयले १५ लाख ८४ हजार बराबरको श्रमदान गरेका छन् । प्रति घर ६ लाख ७४ हजार ५ सय ५० रुपैयाँ लागत लागेको जनाइएको छ ।
सुदुरपश्चिम प्रदेशको भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिब यज्ञराज जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सचिव इनिश विक, बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि लगाएको उपस्थिति थियो ।