बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित कोटागढी खेलमैदानमा बुधबारदेखि डेउडा सांस्कृतिक कृषि तथा पशु हाटबजार संचालनमा आएको छ । डेउडा सस्कृतिको संरक्षण, प्रचारप्रसार गर्न र स्थानीय किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य सामाग्रीको बजारीकरणका लागि स्थानीय स्तरमै सुबिधा दिने उदेश्यका साथ डेउडा सांस्कृतिक कृषि तथा पशु हाटबजार संचालनमा ल्याइएको हो ।
जसको बुधबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न । स्थानीय बर्दगोरिया ४ मा रहेको मुडा बजार विकास समिति, स्थानीय ब्यापारी र स्थानीय सरकारसङ्गको समन्वयमा संचालनमा ल्याइएको उक्त डेउडा सांस्कृतिक कृषि तथा पशु हाटबजार हरेक साताको बुधबार (एकदिन) लाग्ने जनाइएको छ ।
कृषि हाटबजारको उद्घाटन गर्दै बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले किसानहरुको मुख्य आम्दानीको स्रोत तरकारी तथा फलफुल भएकाले कृषि उपज सामाग्री बिक्रीका लागि साताको एकदिन हाटबजार नै संचालन गरिनु खुशीको कुरा भएको बताए । उनले कृषि क्षेत्रको विकास र किसानको आयस्तर माथि उकास्नका लागि बजारीकरण र ब्यवसायिकरण प्रमुख विषय भएको बताए ।
बर्दगोरिया ४ मा हाटबजार संचालन भएपछि स्थानीय स्त्तरमै किसानले उत्पादन गरेका कृषिजन्य सामाग्रीको बजारीकरणका लागि निकै सहज हुने र किसानलाई आर्थिक रूपमा सबल पार्न यसले ठूलो सहयोग पुर्याउने वडा अध्यक्ष जगत बहादुर शाहीले बताए । उनले हाटबजारमै सुदुरपश्चिमको चिनारी र पहिचान बोकेको डेउडा सस्कृतिको प्रदर्शन (डेउडा ) खेल समेत लाग्ने हुदा मनोरञ्जनका साथमा डेउडा गीत ,संगित र सस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा थप सहयोग मिल्ने बताए ।
कार्यक्रममा सहभागी किसानले हाटबजार संचालनमा आउनु आम किसानका लागि खुशीको कुरा भएको बताएका छ्न । उनीहरूले यसका साथै उत्पादित कृषि सामाग्रीको उचित मूल्य निर्धारण र ब्यवस्थापन तथ व्यवसायीकरणमा जोड दिन आवश्यक भएको बताए ।