काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा चलिरहेको छ। संघीय संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बिहीबार बिहान संसद्मा प्रतिनिधित्व गर्ने एमालेबाहेक सबै दलका शीर्ष नेता सहभागी भएका हुन्। सर्वदलीय बैठकमा संसद्को गतिरोध अन्त्यसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ।
बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल र नेमकिपाबाट प्रेम सुवाल सहभागी छन्।
सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्ष दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेको छ। बैठकमा एमाले सहभागी नभएको एमालेका पूर्वकानुन मन्त्री एवम् कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। ‘हामी यो बैठकमा जाँदैनौं। पहिलेदेखि नै हाम्रो प्रष्ट अडान थियो’, तामाङले भने, ‘हामी सत्ता पक्ष र प्रतिपक्षको हिसाबले मात्र वार्तामा बस्छौं।’
एमाले विभाजन गर्न मध्यराति संसद् स्थगित गरेर सरकारले असंवैधानिक ढंगले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोले सरकारको पनि एमालेले विरोध गर्दै आएको छ। अहिले संसद्मा जारी रहेकै बेला अध्यादेश फिर्ता लिएकोप्रति एमालेले कडा निन्दा गरेको छ।
यस अगाडि संसद्को अवरोध अन्त्यका लागि सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो। सभामुखसँगको विषय भएकाले एमालेसँग मात्र वार्ता गरे हुने र अरु दललाई राख्न नपर्ने जिकिर गर्दै बैठक बहिस्कार गरेको हो।
यस अगाडि राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले सरकारलाई गतिरोध अन्त्यका लागि पहल गर्न रुलिङ गरेका थिए। एमालेले सभामुख अग्नी सापकोटाको भूमिकाप्रति गम्भीर प्रश्न उठाउँदै ९ औँ अधिवेशनको संसद् बैठक निरन्तर अवरोध गर्दै आएको छ। सभामुखले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई गरेको कारबाही प्रक्रिया अगाडि नबढाएकोप्रति एमाले असन्तुष्ट छ।
एमालेले पार्टी विभाजन गराउन सभामुखले महत्वपूर्ण भूमिका खेलेको आरोप लगाउँदै आएको छ। एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। सर्वदलीय छलफलमा संसद्को गतिरोध अन्त्यसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ।