काठमाण्डौ – पर्वतमा आठ प्रजातिका गहुँबालीबारे अनुसन्धान गर्न थालिएको छ । राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवाले पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका प्रजनन गहुँमाथि अनुसन्धान शुरू गरेको जनाएको छ ।
सरकारको जलवायु अनुकूलन गहुँ खेती प्रविधि कार्यक्रमअन्तर्गत मध्यपहाडी भेगमा पहिलो पटक गहुँबारे अनुसन्धान थालिएको केन्द्रले जनाएको छ ।
कुन ठाउँमा कुन प्रजातिको गहुँखेती गर्दा किसानले राम्रो उत्पादन लिन सक्छन्, कुन हावापानी र मौसम तथा भौगोलिक ठाउँमा कुन प्रजाति सुहाउँदो छ भन्ने विषयमा अनुसन्धान थालिएको राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवाका वरिष्ठ कृषि विकास अधिकृत खेमराज पन्तले जानकारी दिनुभयो ।
वर्षेनि तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तनले हिउँदे वर्षा नहुने, सिँचाइको अभावजस्ता कारणले किसानहरूको गहुँखेतीतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिश गर्ने फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीले बताउनुभयो ।
गहुँका विभिन्न आठ प्रजनन बीउको अनुसन्धान गरिएकोमा अहिलेसम्म चार जात सिफारिशका लागि छनाेट भएको छ ।