बर्दगोरिया । कैलाली जिल्लाका १३ वटा स्थानीय तहमा ४७ करोड ६९ लाख २४ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षक कार्यालयको ६२औं वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु मोहन्याल र सबैभन्दा कम जोशीपुर गाउँपालिकामा देखिएको छ।
आर्थिक वर्ष २०८०/८१ अन्तर्गत मोहन्याल गाउँपालिकाको कूल बजेट ९७ करोड २७ लाख ५९ हजार रुपैयाँको लेखा परीक्षण हुँदा ७ करोड ६ लाख ७३ हजार रुपैयाँ बेरुजु देखिएको हो।
यता लम्केचुहा नगरपालिकाको १ अर्ब ८५ करोड ४८ लाख ९२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ५ करोड ५७ लाख ८८ हजार बेरुजु देखिएको छ। गोदावरी नगरपालिकामा पनि ३ अर्ब ८१ लाख ३८ हजारको बजेटमध्ये ५ करोड ८ लाख ७४ हजार बेरुजु देखिएको छ।
भजनी नगरपालिकाको १ अर्ब ५३ करोड ४ लाख ७६ हजारको लेखा परीक्षणमा ४ करोड ७४ लाख ९५ हजार बेरुजु भेटिएको छ। धनगढी उपमहानगरपालिकाको ४ अर्ब ४१ करोड ७७ लाख २९ हजार रुपैयाँको लेखा परीक्षण हुँदा ४ करोड ७२ लाख ६९ हजार बेरुजु देखिएको हो।
टीकापुर नगरपालिकामा ४ करोड २९ लाख ७ हजार, कैलारी गाउँपालिकामा ३ करोड ३८ लाख २५ हजार, गौरीगंगा नगरपालिकामा ३ करोड २० लाख ९५ हजार, घोडाघोडी नगरपालिकामा ३ करोड १७ लाख ४९ हजार, चुरे गाउँपालिकामा २ करोड ५३ लाख ६६ हजार, जानकी गाउँपालिकामा १ करोड ५५ लाख ९० हजार, र बर्दगोरिया गाउँपालिकामा १ करोड ३६ लाख १४ हजार बेरुजु देखिएको छ।
महालेखाको प्रतिवेदनअनुसार सबैभन्दा कम बेरुजु जोशीपुर गाउँपालिकामा देखिएको छ। १ अर्ब १० करोड ४० लाख ४४ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ९६ लाख ७९ हजार रुपैयाँ मात्र बेरुजु देखिएको हो।
नेपालको संविधान र लेखा परीक्षण ऐन, २०७५ बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालय तथा पूर्णस्वामित्व भएको सङ्गठित संस्थाको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा महालेखा परीक्षकबाट अन्तिम लेखा परीक्षण हुने व्यवस्था छ ।