बर्दगोरिया । संघीय सरकाले कैलालीको बर्दगोरिया गाउँपालिकालाई आर्थिक वर्ष २०८२/०८३ को लागि ५२ करोड रुपैयाँ बढि बजेट विनियोजन गरेको छ । सरकारले केही दिन अघि सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा बर्दगोरिया गाउँपालिकालाई ५२ करोड २७ लाख बढी बजेट विनियोजन गरेको हो । जुन गत आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट भन्दा १५ करोड १५ लाख बढी हो ।
संघीय सरकारले गत आर्थिक वर्ष बर्दगोरिया गाउँपालिकालाई ३७ करोड २३ लाख ८१ हजार रुपैयाँ विनियोजन गरेको थियो । गत आर्थिक वर्षको कार्यसम्पादन मुल्यांकनमा कैलालीको बर्दगोरिया गाउँपलिका जिल्लाका १३ वटा स्थानीय तहमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा बर्दगोरिया गाउँपालिका जिल्लामा रहेका स्थानीय तहमध्ये तेस्रो स्थान ल्याउन सफल भएको पालिका हो । गत आर्थिक वर्ष २०८१/०८२ मा कुल ६२ दशमलव ७ अंकसहित बर्दगोरियाले जिल्लाका अरू स्थानीय तहलाई उछिन्दै तेस्रो बनेको थियो । हाईवे क्षेत्रको एक मात्र गाउँपालिका बर्दगोरियाले यसपटक पनि यहाँका नगरपालिकालाई समेत पछि पार्दै संघीय सरकारबाट बढी बजेट प्राप्त गर्न सफल भएको छ ।
सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि कैलालीका १३ वटा स्थानीय तहलाई ७ अर्ब ११ करोड १८ लाख बजेट विनियोजन गरेको छ । जसमा जिल्लाको एकमात्र धनगढी उप महानगरपालिकालाई ९९ करोड १ लाख ,घोडाघोडी नगरपालिकालाई ६२ करोड ५१ लाख, टीकापुर नगरपालिकालाई ५२ करोड ७८ लाख र भजनी नगरपालिकालाई ४१ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी लम्कीचुहा नगरपालिकालाई ५५ करोड २९ लाख, गोदावरी नगरपालिकालाई ६७ करोड ८६ लाख रुपैयाँ गौरीगंगा नगरपालिकालाई ४२ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि जोशीपुर गाउँपालिकालाई ५२ करोड २७ लाख, जानकी गाउँपालिलाई ६४ करोड १३ लाख, कैलारी गाउँपालिकालाई ४७ करोड ९४ लाख, महोन्याल गाउँपालिकालाई ३२ करोड ९१ लाख र चुरे गाउँपालिकालाई ३३ करोड ४९ लाख रुपैयाँ विनियोजन गरेको छ ।