बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनियाँमा रहेको कालिका माध्यमिक विद्यालयमा प्राविधिक धार (तर्फ)को शिक्षण संस्था सुधार योजना (SIP) २०८१-२०८५ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। शनिबार विद्यालयको प्रगति र भावी योजनाबारे छलफल गर्न आयोजना गरिएको कार्यक्रममा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता थियो।कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुँवरको प्रमुख आतिथ्य तथा उपाध्यक्ष गणेश राज गिरि (लालदीप) र पालिका प्रवक्ता मिथुन गौतमको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा क्वालिटी परियोजनाका प्राविधिक अधिकृत पूर्णकला राईको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक प्रमोद साउदले एक वर्षको शिक्षण संस्था सुधार योजना(SIP) कार्यान्वयनको समीक्षाका बारेमा प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिका क्रममा विद्यालयले प्राविधिक शिक्षाका क्षेत्रमा हासिल गरेका उपलब्धि र चुनौतीहरूलाई प्रकाश पारिएको थियो।
कार्यक्रममा पालिका अध्यक्ष कुँवर र उपाध्यक्ष गिरीले शिक्षण संस्थाको सुधारका लागि गाउँपालिका निरन्तर लागिरहेको र आगामी दिनमा अझ सशक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न । उनीहरूले विद्यालयमा सञ्चालित बाली विज्ञान अध्ययनका लागि आवश्यक मानव संसाधन र बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता समेत प्रकट गरे ।
विद्यालयका प्रधानाध्यापक उदय सिंह बीसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा क्वालिटी परियोजनाकी प्राविधिक प्रमुख पूर्णकला राईले कार्यक्रमको औचित्य र महत्त्वबारे प्रकाश पारेकी थिइन । कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा बुद्धिजीवी महावीर साउदले समेत आफ्नो महत्त्वपूर्ण सुझाव राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमले आगामी वर्षहरूमा प्राविधिक शिक्षालाई थप प्रभावकारी बनाउनका लागि नयाँ दिशा निर्देश गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ-संस्थाका प्रतिनिधि, नमुना कृषि फर्मका सञ्चालक, बुद्धिजीवी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले आ-आफ्नो तर्फबाट महत्त्वपूर्ण सुझावहरू राखेका थिए ।
के हो शिक्षण संस्था सुधार योजना ?
सामुदायिक विद्यालयमा सिकाइ सुधारको निम्ति अबको प्रस्थानविन्दु भनेको विद्यालयहरूलाई वास्तविक जीवन र जगतसँग जोड्ने, पढाइलाई सीपसँग जोड्ने, विद्यालयको समय लचिलो र अर्थपूर्ण बनाउने, कक्षालाई बहुपाठ्यपुस्तकको अवधारणामा लैजाने, शिक्षकलाई एकापसमा जोड्नु हो ।विशेषगरि सिकाइ–शिक्षकसँग कक्षाकोठामा मात्र हुने प्रक्रिया भने होइन, यो त शिक्षक, सहपाठी साथी, अभिभावक, समाजका अन्य व्यक्ति, कक्षाकोठा, समुदाय र भौतिक वातावरणसँगको अन्तरक्रियाबाट अनि विद्यार्थीको सक्रिय सामाजिक क्रियाकलापबाट हुने प्रक्रियागत कार्य हो बुझनु हो । सिक्नको लागि सिक्ने कला, निरन्तर सिकाइ र जीवनपर्यन्त सिकाइ अबका नागरिकमा हुनै पर्ने गुण हुन् ।
सिक्नको लागि सिक्ने कला भएको, सिकाइलाई निरन्तरता दिने र सिकाइ जीवनपर्यन्त जारी राख्ने विद्यार्थीमा स्वतन्त्र रूपमा सिक्ने क्षमताको विकास हुन्छ । स्वतन्त्र रूपमा सिक्ने क्षमताको विकास गराउन सरकार, संस्था र व्यक्तिहरूको के कस्तो भूमिका हुनुपर्ने हो ? यसले निक्र्योल गर्नै पर्छ । साथै, सिकाइ के हो भनेर बृहत् अर्थमा बुझनु पनि अति आवश्यक छ ।
यधपी जबसम्म हाम्रा विद्यालयका भौतिक संरचनाहरू सिकाइ अनुकूल, विद्यार्थी अनुकूल; र सिकाइमा उत्साह पैदा गर्ने हँुदैनन्, तबसम्म हामीले बनाएका शिक्षा सम्बन्धी नीति, रणनीति, ऐन, नियम र कानूनले कहिल्यै परिवर्तन ल्याउन सक्दैनन् भन्ने कुरामा सरोकारवाला गम्भीर हुनुपर्ने देखिन्छ ।