बर्दगोरिया, २९ कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले माध्यमिक तह कक्षा १२ सम्म निशुल्क अध्ययन सम्बन्धी कार्यविधि, २०८३ लागू गर्दै अनिवार्य तथा निशुल्क शिक्षाको संवैधानिक अवधारणालाई व्यवहारमा उतारेको छ।

गाउँपालिकाले मिति २०८३ जेठ २६ गते स्थानीय राजपत्रमा सूचना प्रकाशन गरी उक्त कार्यविधि लागू गरेको जनाएको छ। कार्यविधि अनुसार अब बर्दगोरिया गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कक्षा १२ सम्म निशुल्क शिक्षा प्राप्त गर्न पाउने भएका छ्न ।
यसका लागि गाउँपालिकाले यहाँका विद्यालयहरूलाई आवश्यक बजेट अनुदानका रूपमा उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राप्त अनुदान रकमको प्रभावकारी व्यवस्थापन गर्दै विद्यालयहरूले नियमित रूपमा कक्षा सञ्चालन गर्नुपर्नेछ। यस कदमले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय तहबाट शिक्षा क्षेत्रमा गरिएको यस निर्णयलाई अभिभावक, विद्यार्थी तथा शिक्षाप्रेमीहरूले सकारात्मक रूपमा लिएका छन्। शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वासका साथ यो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिने बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए । पालिकाले यसअघि कक्षा १० सम्म निशुल्क शिक्षा प्रदान गर्दै आएको थियो ।
यद्यपि कार्यविधिको प्रभावकारी कार्यान्वयन, बजेटको पारदर्शी व्यवस्थापन तथा विद्यालयस्तरमा नियमित अनुगमन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। नीति निर्माणसँगै त्यसको सफल कार्यान्वयनमा समेत विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।
बर्दगोरिया गाउँपालिकाको यो पहल स्थानीय तहबाट शिक्षा क्षेत्र सुधारका लागि गरिएको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


