काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आइतबार राति मुलुकका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने जनाएको छ । महाशाखाका अनुसार आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै तथा मधेस प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, कोसी र वाग्मती प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भने अति भारी वर्षा पनि हुन सक्ने महाशाखाले जानकारी दिएको छ । महाशाखाले भारतीदेखि अति भारी वर्षा हुँदा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आग्रह गरेको छ । साथै जल तथा मौसम विज्ञान विभागबाट जारी हुने सूचनाहरूमा अद्यावधिक रहन पनि आग्रह गरेको छ ।
महाशाखाले वर्षाका कारण “दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन अनुरोध” गरेको छ ।


