बर्दगोरिया,८ असोज । कैलालीको बर्दगोरिया गाउँपालिकाले गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन बिदा दिने निर्णय गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयको पत्रअनुसार असोज ९ गते नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना तथा प्रतिकूल मौसमका कारण विद्यार्थीको आवतजावत र सुरक्षालाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिने निर्णय गरिएको पालिकाले विशेष सूचनामार्फत जनाएको छ । 
पालिकाले उक्त दिन (असोज ९ ) को बिदा विद्यालयको वार्षिक शैक्षिक कार्यतालिकामा व्यवस्था भएका अन्य बिदाबाट समायोजन गर्नुपर्ने जनाएको छ। बिदा समायोजन गर्दा विद्यार्थीको सिकाइ उपलब्धि तथा तोकिएको वार्षिक कार्यदिनमा असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाउन गाउँपालिकाले विद्यालयहरूलाई निर्देशन दिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मबहादुर थारुद्वारा जारी सूचनामा मौसमको अवस्था र स्थानीय परिस्थितिलाई समेत ध्यानमा राख्दै विद्यालयको भौतिक संरचना, विद्यार्थी तथा शिक्षकको सुरक्षा र आवश्यक सावधानी अपनाउन विद्यालयका प्रधानाध्यापक तथा विद्यालय प्रशासनलाई अनुरोध गरिएको छ ।


