सिफारिस

बौनियामा चाडपर्व लक्षित नागरिक सुरक्षा सहायता कक्ष स्थापना

बौनिया, कैलाली । चाडपर्वको समयमा हुन सक्ने चोरी, ठगी, सवारी दुर्घटना तथा झैझगडालगायतका घटना न्यूनीकरण गर्ने उद्देश्यले कैलालीको बौनियामा आइतबारदेखि नागरिक सहायता कक्ष स्थापना गरिएको छ।

दशैं–तिहारलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय बौनियाले यात्रु तथा सर्वसाधारणलाई तत्काल सुरक्षा र आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याएको हो। इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर बिष्टका अनुसार चाडपर्वको समयमा नागरिकको आवतजावत बढ्ने भएकाले सम्भावित आपराधिक गतिविधि तथा दुर्घटना नियन्त्रणका लागि सहायता कक्ष स्थापना गरिएको हो।

सहायता कक्षमार्फत यात्रु तथा सर्वसाधारणका गुनासा, समस्या र आकस्मिक अवस्थाबारे तत्काल जानकारी लिई आवश्यक सहयोग गरिने प्रहरीले जनाएको छ। प्रहरीले चाडपर्वको समयमा सवारी साधन तीव्र गतिमा नचलाउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा यात्राका क्रममा सावधानी अपनाउन आग्रह गरेको छ।

त्यस्तै, कुनै शंकास्पद गतिविधि, चोरी, ठगी, झैझगडा वा अन्य आपराधिक घटना देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा नागरिक सहायता कक्षमा जानकारी गराउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रहरीले दशैं–तिहारलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा मनाउने वातावरण निर्माण गर्न नागरिक र प्रहरीबीचको सहकार्य आवश्यक रहेको जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?