कैलाली, असार २८ । कैलालीको बर्दगोरिया गाउँपालिकाले सोमबार सार्वजनिक शोक बिदा दिएको छ । बर्दगोरिया गाउँपालिकाका कार्यपालिका सदस्य तथा वडा नं. ३ का वडा सदस्य भीमबहादुर विश्वकर्माको आइतबार ४४ वर्षको अल्पायुमै असामयिक निधन भएपछि पालिकाले गहिरो दुःख व्यक्त गर्दै सोमबार एक दिन सार्वजनिक शोक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले आइतबार जारी गरेको शोक बिदा सम्बन्धी सूचनाअनुसार दिवंगत विश्वकर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै दिवंगत आत्माको चिरशान्तिको कामना पनि गरिएको छ।
आइतबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार असार २९ गते सोमबार गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था(अत्यावश्यक सेवाबाहेक) का सेवा तथा शैक्षिक संस्थामा एक दिन सार्वजनिक शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले शोक बिदाका कारण सेवा प्रवाहमा पर्न जाने असुविधाप्रति सेवाग्राहीसँग क्षमायाचना गर्दै सम्बन्धित सबैलाई सूचनाको पालना गर्न आग्रह गरेको छ।



