धनगढी । डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १८५० नम्बरको पाँचजना सवार बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । चालकसहित तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिएका छन् ।
दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का ४५ वर्षका सुगन लोथ्याल र सोही ठाउँका २८ वर्षीय हनु लोथ्यालको दुर्घटनामा परी मृत्यु भएको छ । सूचना अधिकारी चन्दले दिएको जानकारी अनुसार घाइते हुनेमा दार्चुलाको मार्मा गाउपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका–१ का ३५ वर्षीया सरस्वती लोथ्याल रहेका छन् ।
जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी घाइते छन् । घाइते तीनै जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


