काठमाडौ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार बिहान ८ बजे जनाएअनुसार हाल देशभरकै आकाशमा साधारणतया बादल लागेको छ। कर्णाली प्रदेशका धेरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान साथै बागमती र कोसी प्रदेशका थोरै ठाउँमा मध्यमसम्म वर्षा भइरहेको छ।

मौसम महाशाखाले आज बिहान अपडेट गरेको बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, मधेस प्रदेश साथै कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान साथै कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यसअघि मौसम महाशाखाले आजै बिहान ७:२० बजे जारी गरेको सूचनाअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा लमजुङ जिल्लाको गिलुङमा १७९.२ मिलिमिटर भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश ठाउँमा पानी परेको छ। साथै अन्य प्रदेशका पनि धेरै ठाउँमा वर्षा भएको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी तथा थोरै ठाउँमा धेरै भारी वर्षा भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि थोरै स्थानमा धेरै भारी वर्षा भएको छ र अझै पानी परिरहेको तथा उक्त प्रणाली पश्चिमतर्फ सरिरहेकाले कर्णाली र सुदूरपश्चिम प्रदेशमा थप वर्षा हुने सम्भावना छ।


