सिफारिस

बर्दगोरियामा यहि चैत्र १३ गते प्रादेशिक नारी सन्त समागम हुँदै

बर्दगोरिया। कैलालीको बर्दगोरिया गाउँपालिकामा यही चैत १३ गते सन्त निरंकारी प्रादेशिक नारी सन्त समागमको आयोजना गरिएको छ । सन्त निरंकारी मण्डल नेपालको आयोजना हुन गइरहेको कार्यक्रमको तयारी तिब्र पारिएको आयोजकले जनाएको छ ।

समाजमा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने, नैतिक संस्कारको विकास गर्ने, महिलाहरूलाई धार्मिक तथा सामाजिक रूपमा सशक्त बनाउने तथा परिवार र समाजलाई सकारात्मक दिशामा अघि बढाउने उद्देश्यले नारी सन्त समागम आयोजना गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

उक्त समागममा सुदुरपश्चिमका विभिन्न जिल्लासहित छिमेकी जिल्ला बर्दिया ,बाके र दाङबाट समेत नारी सन्त, धर्मगुरु, साध्वी तथा धर्मप्रेमी भक्तजनहरूको उल्लेख्य सहभागिता रहने जनाएको छ । कार्यक्रममा विशेषगरी महिलाहरूको सक्रिय सहभागिता रहने विश्वास गरिएको छ ।

समागममा डाक्टर रीता यादव मुख्य प्रवचनकर्ताको रूपमा रहने जनाइएको छ । उनले मुख्यगरी महिला सशक्तिकरण, परिवारमा सद्भाव, नैतिक शिक्षा, संस्कारको संरक्षण तथा आध्यात्मिक जीवनको महत्वबारे आध्यात्मिक प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय कमिटी अध्यक्ष नर बहादुर रावलले  समागमका अवसरमा भजन–कीर्तन, धार्मिक प्रवचन, आध्यात्मिक सत्संग, सामूहिक प्रार्थना, धर्म तथा संस्कार सम्बन्धी मार्गदर्शन, तथा समाज सुधारसँग सम्बन्धित विचार समेत आदानप्रदान गरिनेछ्न ।

आयोजककाअनुसार पछिल्लो समय समाजमा देखिएको पारिवारिक विघटन, असमझदारी, हिंसा, दुर्व्यसन तथा नैतिक विचलन जस्ता समस्यालाई न्यूनीकरण गर्न धार्मिक तथा आध्यात्मिक कार्यक्रम आवश्यक रहेको महसुस गरी समागम आयोजना गरिएको हो ।

पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरूले महिलाहरू समाजको आधारशिला भएको उल्लेख गर्दै महिलाहरूमा सकारात्मक सोच, सहनशीलता, संयमता र संस्कारको विकास भए समाज स्वतः सभ्य र अनुशासित बन्ने बताएका छ्न ।  उनीहरूले नारी सन्तहरूको भूमिका समाज सुधारमा महत्वपूर्ण हुने भएकाले यस्ता समागमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छ्न ।

आयोजक मण्डलले धार्मिक तथा आध्यात्मिक कार्यक्रमका माध्यमबाट समाजमा एकता, सद्भाव, सहकार्य र सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण धर्मप्रेमी, स्थानीय बासिन्दा, बुद्धिजीवी, महिला समूह तथा युवाहरूलाई कार्यक्रममा उपस्थित भई समागम सफल बनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?