सिफारिस

लम्कीचुहा अस्पतालबारे मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नगर प्रमुख शाहीको कडा आपत्ति

लम्की,१२ वैशाख । कैलालीको लम्कीचुहा नगरपालिकाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह द्वारा व्यक्त गरिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। शुक्रबार यातायात व्यवस्था सेवा कार्यालय, बलियाको उद्घाटन कार्यक्रममा लम्कीचुहा अस्पताल सम्बन्धी मुख्यमन्त्रीको भनाइ भ्रामक, तथ्यहीन तथा द्वन्द्व उक्साउने खालको रहेको भन्दै नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको हो।

नगर प्रमुख सुशीला शाहीद्वारा जारी प्रेस विज्ञप्तिमा लम्कीचुहामा प्रादेशिक अस्पताल स्थापना गर्न नगरपालिका सुरुदेखि नै सकारात्मक र प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। तर स्थानीय सरकारको अधिकार, कानुनी प्रक्रिया र जनभावना मिचेर गरिने एकपक्षीय निर्णय कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारिएको छ। विज्ञप्तिमा सर्वोच्च अदालतमा विचाराधीन विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिले सार्वजनिक मञ्चबाट भ्रम फैलाउनु, तथ्य तोडमोड गर्नु र जनतालाई उक्साउनु संवैधानिक मर्यादा तथा कानुनी शासनविपरीत भएको ठहर गरिएको छ।

त्यस्तै, कुनै सम्झौता (MoU), कानुनी आधार र संस्थागत प्रक्रिया बिना नै नगरपालिकाको सम्पत्ति, संरचना र जनशक्ति हस्तान्तरण गर्ने तथा आर्थिक भार स्थानीय तहमा थोपर्ने तर नियन्त्रण प्रदेशले राख्ने प्रयास संघीयता र स्थानीय स्वायत्ततामाथिको प्रत्यक्ष हस्तक्षेप भएको आरोप लगाइएको छ।

नगरपालिकाले कर्मचारी व्यवस्थापन, MoU बिना गरिएको समिति विघटन तथा स्पष्ट कार्यढाँचा अभावप्रति पनि असन्तुष्टि जनाएको छ। प्रदेश सरकारले सम्मानजनक सहमति र स्पष्ट कार्ययोजनासहित वार्तामा बोलाए दुई दिनभित्रै समस्या समाधान गरी अस्पताल सञ्चालन गर्न नगरपालिका तयार रहेको जनाइएको छ।तर, यदि स्थानीय सरकारको अधिकार मिच्ने, मुद्दालाई राजनीतिकरण गर्ने तथा बलपूर्वक निर्णय लाद्ने कार्य जारी रहेमा नगरपालिका कानुनी, प्रशासनिक र जनस्तरका सबै वैधानिक विकल्प प्रयोग गर्न बाध्य हुने चेतावनी दिइएको छ।

साथै, अधिनायकवादी शैलीमा भ्रम फैलाएर अस्पताल परिसर, कर्मचारी वा सर्वसाधारणमाथि कुनै अप्रिय घटना भए त्यसको नैतिक र राजनीतिक जिम्मेवारी मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीले लिनुपर्ने उल्लेख गरिएको छ।

नगरपालिकाले अन्त्यमा स्थानीय स्वायत्तताको सम्मान गर्दै कानुनी प्रक्रिया र संस्थागत समझदारीका आधारमा अघि बढ्न प्रदेश सरकारलाई आग्रह गरेको छ। साथै, आम नागरिकलाई भ्रामक प्रचारको पछि नलाग्न अनुरोध गर्दै गुणस्तरीय स्वास्थ्य सेवाप्रति नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार