सिफारिस

बर्दगोरिया गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत थारुको स्वागत

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत धर्म बहादुर थारुको एक कार्यक्रमका बीच स्वागत गरिएको छ।

आइतबार गाउँपालिकामा आयोजित स्वागत कार्यक्रममा पालिका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरि, वडा अध्यक्षहरू, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रममा पालिका अध्यक्ष कुँवरले खादा तथा फूलमालाले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत थारुलाई स्वागत गर्दै बर्दगोरियाको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न उहाँको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने दिशामा सहकार्य आवश्यक रहेको बताउनुभयो।अध्यक्ष कुँवरले भन्नुभयो – हामीले बर्दगोरियालाई विकास र सुशासनको नमुना बनाउन खोजिरहेका छौँ। त्यसका लागि प्रमुख प्रशासकीय अधिकृतको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ, त्यसैले भर्खरै सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत ज्युको अनुभव र कार्यशैलीले यहाँको सेवा प्रवाहलाई अझ चुस्त, दुरुस्त र प्रभावकारी बनाउनेमा हामी विश्वस्त छौँ।”

यसैगरी, कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत धर्म बहादुर थारुले आफूलाई दिएको जिम्मेवारीप्रति प्रतिबद्ध रहेको बताउँदै गाउँपालिकाको समृद्धि र सेवा प्रवाह सुधारमा पूर्ण रूपमा केन्द्रित हुने प्रतिवद्धता जनाउनुभयो। उहाँले सबै जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदायसँग समन्वय गर्दै काम गर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो – मलाई दिइएको जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्नेछु। बर्दगोरिया गाउँपालिकामा पारदर्शी, प्रभावकारी र नागरिकमुखी सेवा प्रवाह सुनिश्चित गर्न सबैसँग सहकार्य गरेर अगाडि बढ्नेछु। यहाँको विकासलाई गति दिन हामी सबैको एकताबद्ध प्रयास आवश्यक छ।”

स्वागत कार्यक्रममा वडा अध्यक्ष मिथुन गौतम, गोबिन्द बिक, भोलेराम चौधरी लगायतले प्रमुख प्रशासकीय अधिकृतसँग सहकार्य गर्दै जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरूले पनि खादा तथा फूलगुच्छा प्रदान गर्दै नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हार्दिक स्वागत गरेका थिए।

नयाँ प्रमुख प्रशासकीय अधिकृत थारुको आगमनसँगै बर्दगोरिया गाउँपालिकामा प्रशासनिक कामकाज अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बन्ने विश्वास गरिएको छ। झन्डै १३ वर्ष लामो अनुभव बोकेका प्रमुख प्रशासकीय अधिकृत थारु यसअघि थारु आयोग नेपालमा शाखा अधिकृत थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?