सुखड,२९ वैशाख । कैलालीको घोडाघोडी नगरपालिकाले सार्वजनिक गरेको शैक्षिक सत्र २०८२ को एसईई परीक्षाको नतिजाअनुसार सामुदायिक भन्दा संस्थागत विद्यालयहरूको नतिजा उत्कृष्ट देखिएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार सामुदायिक विद्यालयतर्फ १८ विद्यालयबाट सहभागी १ हजार ४३ विद्यार्थीमध्ये ७५३ जना ग्रेडेड भएका छन्। यसतर्फ कुल उत्तीर्ण प्रतिशत ७२.२० रहेको छ।
सामुदायिक विद्यालयमध्ये जनज्योति माध्यमिक विद्यालय सुन्दरपुरले ९३.१० प्रतिशत नतिजासहित उत्कृष्ट प्रदर्शन गरेको छ। त्यसैगरी बडातडा आधारभूत विद्यालय बछुरियाले ९०.९१ प्रतिशत नतिजा ल्याएको छ।
यस्तै राष्ट्रिय माध्यमिक विद्यालय तारानगरमा १३० विद्यार्थी सहभागी हुँदा ७७ जना मात्र ग्रेडेड भएका छन्, जसको उत्तीर्ण प्रतिशत ५९.२३ रहेको छ। जनकल्याण माध्यमिक विद्यालय थेबे र पहलमानसिंह मेमोरियल मावि आवासामा भने नतिजा कमजोर देखिएको छ।
संस्थागत विद्यालयतर्फ भने नतिजा निकै उत्साहजनक देखिएको छ। नगरपालिकामा रहेका ६ वटा संस्थागत विद्यालयबाट सहभागी १९१ विद्यार्थी मध्ये १८४ जना ग्रेडेड भएका छन्। यसतर्फ कुल उत्तीर्ण प्रतिशत ९६.३४ रहेको नगरपालिकाले जनाएको छ।
न्यू स्टार इङ्ग्लिस बोर्डिङ स्कूल र पायोनियर स्कलर्स एकेडेमीले शतप्रतिशत नतिजा ल्याएका छन्। घोडाघोडी सामुदायिक माविले ९७.१८ प्रतिशत तथा कलम बम मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कूलले ९४.७४ प्रतिशत नतिजा हासिल गरेका छन्।
नगरपालिकाभर सामुदायिक र संस्थागत गरी कुल १ हजार २३४ विद्यार्थी परीक्षामा सहभागी भएकामा ९३७ जना ग्रेडेड भएका छन्। शैक्षिक सत्र २०८२ को एसईई परीक्षाको समग्र उत्तीर्ण प्रतिशत ७५.९३ रहेको सार्वजनिक विवरणमा उल्लेख छ।


