बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको बर्दगोरिया कलेजमा लागू औषध दुर्व्यसनी नियन्त्रणका लागि सचेतनामुलुक कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यलय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टले सहजीकरण गर्नुभएको थियो ।
पछिल्लो समय युवापुस्तामा बढ्दो लागू औषध प्रयोग तथा त्यसबाट उत्पन्न हुने समस्याहरूलाई न्यूनीकरण गर्ने उदेश्यले सचेतनामुलक कार्यक्रम गरिएको हो ।

बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासान कार्यालय कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी , प्रशासकीय अधिकृत शिवराज जोशी लगाएतको उपस्थिति रहेको थियो ।
प्रशिक्षणका क्रममा प्रहरी निरीक्षक विष्टले लागू औषधको परिचय, यसको दुर्व्यशनबाट पर्ने शारीरिक, मानसिक तथा सामाजिक असरका विषयमा विस्तृत जानकारी गराउनु भएको थियो । उहाँले लागू औषध दुर्व्यसनले केवल स्वास्थ्यमा मात्र नभई सामाजिक, आर्थिक तथा पारिवारिक जीवनमा समेत नकारात्मक असर पार्ने भन्दै विशेष गरी विद्यार्थी तथा युवाहरूलाई सचेत रहन आग्रह गर्नुभयो।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले लागू पदार्थ सेवनका कारण उत्पन्न हुने कानुनी जटिलता तथा त्यससँग सम्बन्धित कारबाहीका विषयमा जानकारी दिनुभएको थियो । उहाँले लागू औषध सम्बन्धी अपराधमा संलग्न भएमा कानुन अनुसार कडा सजाय हुने भएकाले सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले लागू औषध दुव्र्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गइरहेको अवस्थामा यसविरुद्ध सामूहिक रूपमा लाग्नुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय तह, प्रशासन, शैक्षिक संस्था तथा समुदायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
उहाँले यस्ता कार्यक्रमहरूले युवापुस्तामा सकारात्मक सोच र व्यवहार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर कुँवर, क्याम्पस प्रमुख चन्द्रा खरेलको सहभागिता रहेको थियो ।


