भजनी । कैलालीको भजनी नगरपालिका वडा नम्बर ४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।भजनी–सुख्खड सडकखण्ड अन्तर्गत धनौराबाट भजनीतर्फ आउँदै गरेको मोटरसाइकल सडक छेउमा रहेको सालको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भजनी नगरपालिका–१ मधुवन शिविर निवासी करिब ३० वर्षीय मुकेश चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प १६५१ नम्बरको मोटरसाइकल बुधबार राती ९ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल सडकबाट २० मिटर तल नालीमा पुगेको थियो। दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो। तर, राति करिब ९ः४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। शव प्राथमिक स्वास्थ्य केन्द्र भजनीमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


