सिफारिस

बर्दगोरिया–१ मा थारु समुदायको पहिलो तिहार ‘गुरही असरैना’ भव्यरुपमा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ स्थित मुडा गाउँमा सोमबार थारु समुदायको पहिलो तिहारका रूपमा मनाइने ‘गुरही असरैना’ कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ।

वडा नम्बर १ मा रहेको मुडा गाउँ समाज र उत्तर मुडा गाउँ समाजको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रम पुर्व दुईवटै गाउँका भलमन्सा,समाजसेवी र बुद्धिजीवी बिच कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो ।

थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले दुई वटै गाउँ समाजबाट आर्थिक संकल्न गरि कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रमको दुई वटै गाउँ समाजका भलमन्साले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

कार्यक्रमका माध्यमबाट थारु समुदायमा रहेका नयाँ पुस्तालाई आफ्नो भाषा, भेषभूषा, कला, संस्कृति र परम्परासँग जोड्ने उदेश्यसहित आयोजना गरिएको जनाईएको छ ।

गुरही असरैना कार्यक्रममा थारु समुदायका मौलिक कला तथा संस्कृति झल्किने विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागीले लेहेंगा, चोली, धोतीलगायतका परम्परागत थारु पहिरनमा सजिएर गीत तथा नृत्यमार्फत आफ्नो कला प्रस्तुत गरेका थिए।

थारु समुदायमा गुरही पर्वलाई वर्षको पहिलो तिहारका रूपमा लिइन्छ। यस पर्वले समुदायमा आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै पुस्तौंदेखि चलिआएको मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिने काम गर्दै आएको छ।

स्थानीयस्तरमा गुरही असरैनाजस्ता सांस्कृतिक कार्यक्रमको आयोजना हुनुले थारु समुदायको मौलिक कला, संस्कृति र पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार