वीरेन्द्रनगर । सुर्खेतको बराहताल गाउँपालिका–७, नयाँवनस्थित भित्री सडकखण्डमा सडक निर्माणको काम गर्दै गरेको जेसीबी मेसिन चालकसहित भिरमा खस्दा चालकको मृत्यु भएको छ।

भे.१ ग १२७ नम्बरको जेसीबी बाटो सफा गर्ने क्रममा सडकबाट करिब ३०० मिटर तल खसेको हो। दुर्घटनामा जेसीबी चालक बराहताल गाउँपालिका–५ निवासी करिब ३३ वर्षीय रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए।
घाइते लामिछानेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गरेपछि उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।


