दुर्गौली,३० चैत्र । जोखिम न्यूनीकरण परियोजनाअन्तर्गत कैलालीको जानकी गाउँपालिकालाई विपद् व्यवस्थापन सम्बन्धी आवश्यक सामग्री सहयोग गरिएको छ। परराष्ट्र मन्त्रालय जापान र वर्ल्ड भिजन जापानको आर्थिक सहयोगमा सञ्चालन भइरहेको समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजनामार्फत उक्त सामग्री हस्तान्तरण गरिएको हो।
सामाजिक विकासका लागि सचेत समाज (SSCD) कैलालीका अध्यक्ष बलबहादुर शिलाधरले गाउँपालिका अध्यक्ष गणेश चौधरीलाई एक औपचारिक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले विपद् व्यवस्थापनमा यस्ता सामग्रीले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले स्थानीय तहमा विपद् पूर्वतयारी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन यस्ता सहयोग आवश्यक रहेको बताए।
यस परियोजनाले समुदायस्तरमै विपद् जोखिम न्यूनीकरणका गतिविधि सुदृढ गर्दै स्थानीय जनताको सुरक्षा र सचेतनामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


