कैलाली, ३० चैत्र। कैलालीमा औलो (मलेरिया) र कालाजार नियन्त्रणका लागि लक्षित अभियान सुरु गरिएको छ। स्वास्थ्य कार्यालय कैलालीले स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गर्दै जिल्लाको गौरीगंगा नगरपालिका र भजनी नगरपालिका अन्तर्गतका वडाहरूमा अन्तरंग अवशिष्ट विषादी छिड्काव (Indoor Residual Spraying–IRS) तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो।
आर्थिक वर्ष २०८२/०८३ को प्रारम्भमै केही स्थानमा औलो तथा कालाजारका बिरामी देखिएपछि जोखिम न्यूनीकरणका लागि प्रभावित क्षेत्र वरपर करिब २ सय मिटर दायरा भित्रका घरधुरी, गोठ तथा कटेरामा विषादी छिड्काव गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। यस अभियानको मुख्य उद्देश्य रोग सार्ने बाहक (Vector) नियन्त्रण गरी संक्रमण फैलावट रोक्नु रहेको जनाइएको छ ।

कार्यालयको प्राविधिक टोलीद्वारा यहाँका स्थानीय नागरिकको घरभित्रका भित्ताहरूमा विशेष किसिमको दीर्घकालीन प्रभाव पार्ने विषादी छर्कने काम भइरहेको छ। यसले लामखुट्टे तथा भुसुनाको वृद्धि नियन्त्रण गरी औलो र कालाजारको जोखिम घटाउन सहयोग गर्ने विश्वास गरिएको छ।
कार्यक्रमसँगै स्थानीय समुदायलाई लक्षित गरी जनचेतना अभिवृद्धि पनि तीव्र बनाइएको छ। अभियान मार्फत स्वास्थ्यकर्मीहरूले औलो र कालाजारका लक्षण, समयमै उपचारको आवश्यकता, सरसफाइको महत्व, झुलको प्रयोग तथा पानी जम्न नदिने उपायबारे जानकारी दिएका छ्न ।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार पछिल्ला वर्षहरूमा यस्ता रोग नियन्त्रणका लागि निरन्तर प्रयास भए पनि केही क्षेत्र अझै जोखिममा रहेकाले यस वर्ष अभियानलाई थप सशक्त बनाइएको हो। विशेषगरी झाडी, पानी जम्ने ठाउँ र अस्वच्छ वातावरण भएका क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ।
यस अभियानले औलो तथा कालाजार नियन्त्रणमा प्रभावकारी योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, स्वास्थ्य कार्यालयले नागरिकलाई घरपरिसर सफा राख्न, झुल प्रयोग गर्न र कुनै पनि लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त जाँच गराउन आग्रह गरेको छ।
स्वास्थ्य कार्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै कैलालीलाई औलो तथा कालाजारमुक्त जिल्ला बनाउने लक्ष्य लिएको जनाएको छ।


