सिफारिस

आगलागीजन्य विपद् जोखिम न्यूनीकरणका लागि बर्दगोरियाद्वारा उच्च सतर्कता अपनाउन आग्रह

बर्दगोरिया,३ वैशाख। कैलालीको बर्दगोरिया गाउँपालिकाले पछिल्लो समय बढ्दै गएको आगलागीका घटनालाई मध्यनजर गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

विशेषगरी सुख्खा मौसम, तीव्र हावाहुरी चल्ने अवस्था तथा गहुँबाली भित्र्याउने समयसँगै आगलागीको जोखिम उच्च बन्दै गएको भन्दै गाउँपालिकाले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।यो समयमा किसानले गहुँ काटिसकेपछि खेतबारीमा बाँकी रहेका खुटा, नल तथा झ्वाली जलाउने प्रचलनले आगलागीका घटना घट्ने भएको हुँदा यस्तो लापरवाहीपूर्ण कार्यका कारण नजिकैका बाली, वनजंगल र मानव बस्तीमा समेत आगो फैलिने जोखिम अत्यधिक रहेको हुँदा यस्ता क्रियाकलाप नगर्न र नगराउन आग्रह गरेको हो ।

पालिकाले बिहिवार एक सूचना जारी गर्दै कसैले अटेर गरी आगो लगाई कुनै प्रकारको क्षति पुर्‍याएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्तिमै रहने र यस्ता कार्यमा संलग्न भएको पाइएमा प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

पालिकाले विशेषगरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २४ (१) अनुसार दोषी ठहरिएमा ५ लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको जानकारी दिएको छ।

पालिकाले सबै नागरिकलाई सजग, सचेत र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गर्दै सानो लापरवाहीले ठूलो विपद् निम्त्याउन सक्ने भएकाले सचेत रहन अपिल गरेको छ। विशेषगरी आगोको प्रयोग गर्दा सावधानी अपनाउन, जथाभावी आगो नबाल्न र देखेको खण्डमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सूचनामार्फत आग्रह गरिएको छ।

“आगोसँग हेलचेक्र्याइँ नगरी, आफ्नो र अरूको सम्पत्ति जोगाऔँ” भन्दै पालिकाले सामूहिक सचेतना र सहकार्यबाट मात्रै सम्भावित विपद् न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार