बर्दगोरिया, ३ वैशाख । कैलालीको बर्दगोरिया गाउँपालिकामा यहि वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको हो ।

गाउँपालिकाअन्तर्गत रहेको दोधोधरा अस्पतालले बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सञ्चालन गर्ने भएको हो ।
अस्पतालले जारी गरेको सूचनाअनुसार राष्ट्रिय कार्यक्रमअन्तर्गत २०८३ साल वैशाख ६ र ७ गते उक्त अभियान सञ्चालन गरिनेछ। अभियानमा ६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकालाई अनिवार्य रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने व्यवस्था गरिएको छ।
गाउँपालिकाका विभिन्न वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकामार्फत आफ्नै टोल–टोलमा पुगेर बालबालिकालाई औषधि खुवाइनेछ। यसका लागि अभिभावकलाई नजिकको स्वयंसेविकासँग सम्पर्क गरी आफ्ना बालबालिकालाई कार्यक्रममा सहभागी गराउन आग्रह गरिएको छ।
अस्पतालले विशेष रूपमा कुनै कारणले कार्यक्रमस्थलमा उपस्थित हुन नसकेका बालबालिकालाई समेत दोधोधरा अस्पतालमा आएर औषधि खुवाउन सकिने जानकारी दिएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार भिटामिन ‘ए’ ले बालबालिकाको दृष्टि तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ भने जुकाको औषधिले पेटका किराहरू हटाई स्वास्थ्य सुधारमा सहयोग पुर्याउँछ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर कुमार अधिकारीले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा औषधि खुवाउन आग्रह गर्दै अभियानलाई सफल बनाउन सहयोग गर्न अपिल गरेका छन्।


