सिफारिस

नमुना विद्यालयतर्फ कदम: महुन्याल मावि बास्कोटीमा ५५ लाखको नयाँ भवन शिलान्यास

बर्दगोरिया, ६ वैशाख । कैलालीको बर्दगोरिया गाउँपालिका–६ स्थित महुन्याल माध्यमिक विद्यालयमा नयाँ भवन निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको “नमुना विद्यालय कार्यक्रम” अन्तर्गत विनियोजित बजेटबाट करिब ५५ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवनको आइतबार एक विशेष समारोहका बीच शिलान्यास गरिएको हो।

गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले विधिवत पूजा–अर्चना गर्दै भवनको शिलान्यास गरेका हुन्। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डबल बी.क., प्रधानाध्यापक चन्द्रीका जोशी, शिक्षक, अभिभावक तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिलान्यास कार्यक्रममा पालिका अध्यक्ष कुँवरले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर सुधार अपरिहार्य रहेको बताए। उनले भने, “नमुना विद्यालय कार्यक्रमले सामुदायिक विद्यालयहरूको अवस्था सुधार्न महत्वपूर्ण भूमिका खेल्नेछ। भौतिक संरचना मात्र होइन, शिक्षण सिकाइ प्रक्रियामा समेत सुधार आवश्यक छ।”

उनले स्थानीय तहले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा थप योजनाहरू ल्याइने पनि संकेत गरे।

विद्यालय प्रशासनका अनुसार निर्माण हुन लागेको नयाँ भवन मुख्यतः कार्यालय व्यवस्थापनका लागि प्रयोग गरिनेछ। हालसम्म सीमित संरचनाका कारण प्रशासनिक कार्यमा समस्या भइरहेको उल्लेख गर्दै नयाँ भवनले सेवा प्रवाहलाई व्यवस्थित, छिटो र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रधानाध्यापक चन्द्रीका जोशीले भनिन्, “नयाँ भवन निर्माण भएपछि विद्यालयको प्रशासनिक काम सहज हुनेछ। यसले शिक्षक र विद्यार्थी दुवैलाई सकारात्मक वातावरण सिर्जना गर्नेछ।”

(तस्बिर :कृष्ण प्रसाद ओझा)

प्रतिक्रिया

सम्बन्धित समाचार