सिफारिस

सीमा विवाद बारे गृहको जाजबुझ टोलि हुम्लामा

सिमकोट । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली यहाँ आइपुगेको छ । एसएसपी विमलराज पौडेल नेतृत्वको टोली आइतबार (जेठ १७) सिमकोट आइपुगेको जिल्ला प्रहरी कार्यालयका डीएसपी शंकर खड्काले जानकारी दिए ।

उनका अनुसार, दुई जिल्लाबीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न टोली आएको हो । घटना भएको क्षेत्र लाम्पाटा, च्याचौर क्षेत्र पुगेर टोली सिमकोट आइपुगेको छ ।

टोलीले सिमकोट बसाइँका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग छलफल गर्ने कार्यक्रम छ ।

यही जेठ २ देखि ४ गतेसम्म सीमाका विषयमा हुम्ला र बाजुराका नागरिकबीच भएको झडपले उग्ररूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेर उक्त क्षेत्रमा प्रहरी चौकी निर्माण सुरु गरेपछि विवाद भएको हो । सीमा विवादले उग्ररूप लिँदा लाम्पाटामा दुई जिल्लाका स्थानीयबीच झडप हुँदा बाजुराका चारजना घाइते भएका थिए । घाइते चारैजनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

सोही विवाद समाधान गर्न जेठ ११ गते नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा अध्ययन टोली र नेपाल प्रहरीका एसएसपी विमलराज पौडेलको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन गरिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?