सिफारिस

साफ च्याम्पियनसिप फुटबल : नेपालले आज बंगलादेशसँग सेमिफाइनल खेल्दै

नेपाली महिला फुटबल इतिहासकै सबैभन्दा महत्वपूर्ण खेलमध्ये एक रहनेछ।  नेपाल यही खेलमा रोकिन्छ भने त्यो प्रतियोगिताको इतिहासमै टिमको सबैभन्दा खराब प्रदर्शनमध्ये एक हुनेछ। सन् २०१६ मा एकपल्ट मात्र नेपाल सेमिफाइनलमा रोकिएको थियो।

प्रतियोगिताका बाँकी संस्करणमा भने नेपाल उपविजेता रहेको छ। त्यस अर्थमा नेपाल छपल्ट प्रतियोगिताको दोस्रो राम्रो टिममा दरिएको छ । यसपल्ट फाइनल पुग्न नसकेको यो छवि पनि मेटिनेछ। फाइनल पुग्छ भने नेपालसामु एउटा अर्को अवसर बन्ने छ, पहिलो पटक कुनै ठूलो उपाधि जित्ने अवसर हुनेछ। प्रशिक्षक नवीन न्यौपानेले नेपाली महिला फुटबलकै लागि निकै ठूलो खेल रहेको बताएका छन्।

सेमिफाइनलको अघिल्लो दिन नेपालले बेम्बोलिमस्थित जीएमसी एथलेटिक मैदानमा बिहानी समयमा अभ्यास गरेको थियो। प्रशिक्षणपछि मिडियासामु प्रस्तुत हुने क्रममा प्रशिक्षक न्यौपानेले नेपाली टिम सेमिफाइनलका लागि पूर्णतः तयार रहेको दाबी गर्दै भने, ‘नेपाल महिला फुटबलका लागि सेमिफाइनल ठूलो होइन, निकै ठूलो खेल रहेको छ। हाम्रो टिम यो खेलका लागि शारीरिक र मानसिक रूपमा तयार छ, खासै केही ठूलो समस्या छैन। हामी यो खेललाई लिएर उत्साही पनि छौँ।’

नेपाल प्रतियोगिताको पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशसँग पराजित भयो। त्यसैले नेपालसामु यी दुई फाइनलमा नै हारेको हारको बदला लिने अवसर हुनेछ, तर प्रशिक्षक न्यौपानेले भने फुटबलमा बदला भन्ने नै नहुने दाबी गरे। उनले भने, ‘हाम्रो मनमा बदला भन्ने भावना छैन । हाम्रो एक मात्र उद्देश्य प्रतियोगिताको उपाधि जित्ने हो र सेमिफाइनल त्यसअघिको खुड्किलो हो।’

बंगलादेशी टिमले भने मंगलबारको प्रशिक्षण कार्यक्रम रद्द गरेको थियो। बंगलादेशी खेलाडी सेउली अनामकी आमाको निधन भएको हुनाले टिम प्रशिक्षण कार्यक्रममा सहभागी भएन। त्यसबाहेक पछिल्लो समय बंगलादेशी महिला टिम आफैंमा विवादमा परेको छ।

कम्बोडियाबाट अघिल्लो दिन मात्र गोवा आइपुगेकी प्रीति राईले प्रशिक्षणमा सहभागी भइनन्। उनले बंगलादेशविरुद्ध सुरुदेखि खेल्ने अपेक्षा गरिएको छ। उनी आएपछि नेपाली टिमको मध्यपंक्ति प्रीतिसँगै रेनुका नगरकोटीले सम्हाल्ने छन्

नेपालले बंगलादेशलाई सन् २०२१ यता हराउन सकेको छैन। त्यो भनेको नेपाल बंगलादेशमाथि जित निकाल्न असफल रहेको ५ वर्ष भयो। अहिलेसम्म यी दुई टिमबीच १३ खेल भएको छ। त्यसमध्ये नेपाल ६ खेलमा विजयी छ। यी सबै जित सुरुवाती १० वर्षमा निस्केको थियो।

दुई टिमबीच पछिल्ला ६ खेलमा बंगलादेश दुईपल्ट विजयी छ। दुवै जित पछिल्लो साफ च्याम्पियनसिपको फाइनलमा प्राप्त भएको हो। सन् २०२४ मा बंगलादेशले दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपाललाई हराएपछि दुई टिमबीच पहिलो पटक खेल हुन लागेको हो।

प्रतियोगिताको अर्को सेमिफाइनलमा भारत र भुटान यही मैदानमा राति सवा ८ बजे भिड्नेछन्। फाइनल खेल आगामी शनिबार हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार