सुखड,२३ जेठ । कैलालीको घोडाघोडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। नगरभित्र खोप लगाउने उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेको सुनिश्चित भएपछि शुक्रबार आयोजित एक कार्यक्रममा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।

नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले अनिवार्य रूपमा सबै खोप लगाइसक्नुपर्ने व्यवस्था छ। सो अवधिमा खोप छुटेका बालबालिकालाई १६ देखि ५९ महिनाभित्र आवश्यक खोप उपलब्ध गराइने व्यवस्थाअनुसार नगरपालिकाले छुटेका बालबालिकासमेत समेटेर पूर्ण खोप सुनिश्चितता हासिल गरेको जनाएको छ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा १५ महिनाभित्रका १ हजार ४ सय ९७ बालबालिकामध्ये १ हजार ४ सय ८० जनाले पूर्ण खोप प्राप्त गरेका छन्। यस अवधिमा शून्य डोजका १ जना तथा ड्रपआउट २७ जना बालबालिका रहेका थिए। यस्तै, १६ देखि २३ महिनासम्मका ९ सय ४६ बालबालिकामध्ये ९ सय ८ जनाले पूर्ण खोप प्राप्त गरेका छन् भने शून्य डोजका १ जना र ड्रपआउट ४७ जना बालबालिका रहेका छन्।
त्यसैगरी, १६ देखि ५९ महिनासम्मका ३ हजार १ सय ६ बालबालिकामध्ये ३ हजार ५९ जनाले पूर्ण खोप प्राप्त गरेका छन्। उक्त समूहमा शून्य डोजका २ जना र ड्रपआउट ४६ जना बालबालिका रहेको स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतका अनुसार राष्ट्रिय खोप तालिकाबमोजिम नगरका १२ वटै वडामा खोप लगाउने उमेर समूहका बालबालिकाले खोप प्राप्त गरेको सुनिश्चित गरिएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। उनका अनुसार यस्तो सुनिश्चितताको सर्वेक्षण तथा घोषणा स्थानीय तहहरूले प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था छ।
पूर्ण खोपको दिगोपना कायम राख्न नगरपालिकाले हरेक वर्ष चैत महिनामा नियमित खोपको घरदैलो सर्वेक्षण गर्ने, उमेरअनुसार खोप पाए–नपाएको यकिन गर्ने तथा छुटेका बालबालिकालाई वैशाख महिनामा खोप उपलब्ध गराउने व्यवस्था गर्दै आएको जनाएको छ।
प्रत्येक वडामा गठन गरिएका वडा स्तरीय खोप समन्वय समितिले बालबालिकाले खोप प्राप्त गरेको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जनाइएको छ ।
नगर प्रमुख खडकबहादुर रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख गुलियाकुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालय धनगढीका प्रतिनिधि, स्वास्थ्य चौकी प्रमुख, खोप केन्द्र प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, वडाध्यक्ष तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


