कैलाली,२६ जेठ । संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि कैलाली जिल्लाका १३ वटा स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत कुल ७२५ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

सार्वजनिक विवरणअनुसार जिल्लामा सबैभन्दा बढी बजेट धनगढी उपमहानगरपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा कम बजेट चुरे गाउँपालिका लाई विनियोजन गरिएको छ।
धनगढी उपमहानगरपालिकाले ९२ करोड ५७ लाख रुपैयाँ प्राप्त गरेको छ भने चुरे गाउँपालिकाको भागमा ३३ करोड ८ लाख रुपैयाँ परेको छ।
त्यसैगरी, जानकी गाउँपालिकाले ७९ करोड २४ लाख, जोशीपुर गाउँपालिकाले ६८ करोड ३६ लाख, गोदावरी नगरपालिकाले ६६ करोड ८७ लाख र घोडाघोडी नगरपालिकाले ६१ करोड ६० लाख रुपैयाँ बजेट प्राप्त गरेका छन्।
यसैगरी बर्दगोरिया गाउँपालिकाले ५६ करोड ९८ लाख, लम्कीचुहा नगरपालिकाले ५३ करोड ४५ लाख, टीकापुर नगरपालिकाले ५० करोड ८१ लाख, गौरीगङ्गा नगरपालिकाले ४३ करोड ५७ लाख, कैलारी गाउँपालिकाले ४२ करोड ७४ लाख, भजनी नगरपालिकाले ४१ करोड ८ लाख तथा मोहन्याल गाउँपालिकाले ३४ करोड ८९ लाख रुपैयाँ बजेट प्राप्त गर्ने भएका छन्।
संघीय सरकारबाट प्राप्त हुने उक्त बजेट स्थानीय तहका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न जनमुखी कार्यक्रम सञ्चालनमा खर्च गरिने जनाइएको छ।


