काठमाडौं,५ असार। देशका केही भूभागमा आज वर्षा हुँदा केही स्थानमा अधिकतम तापक्रम उच्च मापन हुनेछ । केही स्थानमा आज तातो दिन हुने पूर्वानुमान छ । केही भूभागमा भने मध्यमसम्म वर्षा हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो हावाको लहर चल्नेछ । वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।
विभागले कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभाग, लुम्बिनी प्रदेशको हिमाली भूभाग तथा कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।
लुम्बिनी प्रदेशको पहाडी भूभाग र मधेस प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । अन्य हिमाली र पहाडी भूभागका साथै कोसी प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ । अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोसी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
मौसमविद् विनोद पोखरेलले पूर्वी नेपालमा गएरातिदेखि वर्षा भइरहेको बताएका छन् । झापामा भारी वर्षा भएको छ । “पछिल्लो सात घण्टामा झापाको अनारमनी विर्तामा २३७ मिलिमिटर वर्षा भएको छ,” उनले भनेका छन् ।
केही भूभाग भने अझै एक हप्ता सुक्खा रहने उनको भनाइ छ । “एक हप्ता पूर्वी तराईबाहेक नेपालको पश्चिमी र दक्षिणी भेगमा वर्षाको सम्भावना थोरै मात्र देखिन्छ,” उनले फेसबुकमा लेखेका छन् ।
हिजो सबैभन्दा बढी अधिकतम तापक्रम भैरहवाको ४१.४ डिग्री सेल्सियस मापन भएको थियो । नेपालगन्जको ४०.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको विभागको तथ्यांक छ । पूर्वी नेपालमा बंगालको खाडीबाट विकसित भएको बादल प्रवेश गरिसकेको जलवायुविज्ञ धर्मराज उप्रेती बताउँछन् ।
पूर्वी नेपालमा बादल र पानीसँगै बाढी र पहिरोको जोखिम रहे पनि पश्चिम नेपालमा पनि घाम लाग्ने उनले प्रस्ट पारेका छन् ।हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय र पूर्वीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।


