सिफारिस

जानकी गाउँपालिकाद्वारा १ अर्ब १२ करोड २५ लाख ६४ हजार रुपैयाँको बजेट सार्वजनिक

कैलाली, असार ५ । कैलालीको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब १२ करोड २५ लाख ६४ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक लालमति देवी कठरियाले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

प्रस्तुत बजेटअनुसार चालुतर्फ ४६ करोड २४ लाख ४१ हजार रुपैयाँ तथा पुँजीगततर्फ ६६ करोड १ लाख २३ हजार रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, सामाजिक सुरक्षा, रोजगार प्रवर्द्धन तथा सुशासनलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरिएको जनाएको छ।

गाउँसभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को आर्थिक विधेयक, विनियोजन विधेयक, बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको थियो। साथै गाउँ कार्यपालिकाबाट भएका विभिन्न निर्णयहरूलाई पनि गाउँसभाले अनुमोदन गरेको छ।

अधिवेशनले आर्थिक वर्ष २०८२/०८३ का लागि स्थानीय सेवा पुरस्कार घोषणा गर्ने निर्णय समेत सर्वसम्मत रूपमा पारित गरेको छ। स्थानीय तहमा कार्यरत कर्मचारी तथा सेवाग्राहीमैत्री प्रशासन निर्माणमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त पुरस्कार घोषणा गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँसभामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले आगामी आर्थिक वर्षको बजेटले गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता वृद्धि तथा नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

गाउँपालिकाले आगामी वर्ष कृषि उत्पादन वृद्धि, युवा तथा महिला सशक्तीकरण, सडक तथा भौतिक पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा तथा दिगो विकासका कार्यक्रमहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने जनाएको छ।

बजेट, नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित भएसँगै १८औँ गाउँसभा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै अध्यक्ष गणेश चौधरीले अधिवेशनको समापन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?