सिफारिस

भजनी नगरपालिकाद्वारा ७० करोड ५५ लाख २० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक

भजनी, ९ असार (कैलाली) । कैलालीको भजनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७० करोड ५५ लाख २० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको सोमबार सम्पन्न २०औँ नगरसभा अधिवेशनमा  नगर उपप्रमुख राजु तिरुवाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेटअनुसार चालुतर्फ ४६ करोड ८२ लाख २२ हजार रुपैयाँ तथा पूँजीगत तर्फ २४ करोड ४६ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विशेष गरि पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सामाजिक सुरक्षा तथा रोजगारी सिर्जना लाई प्रमुख प्राथमिकतामा राख्दै बजेट तर्जुमा गरेको जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टका अनुसार बजेटले नगरवासीको जीवनस्तर उकास्ने तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यसैबीच नगरसभाले बजेटसँगै विभिन्न क्षेत्रसँग सम्बन्धित ६ वटा महत्वपूर्ण विधेयक समेत पारित गरेको छ। पारित विधेयकहरूमा बालबालिकाको अधिकार सम्बन्धी ऐन, २०८३, मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०८३, जलीय संरक्षण ऐन, २०८३, शिक्षा ऐन, २०८१ (संशोधन २०८३), न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन, २०७५ (संशोधन २०८३) तथा सार्वजनिक खरिद नियमावली, २०८२ रहेका छन्।

नगरसभा अध्यक्ष तथा नगर प्रमुख केवल चौधरीले पारित विधेयकहरूले नगरपालिकाको सेवा प्रवाह, सुशासन तथा विकास व्यवस्थापनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने विश्वास व्यक्त गर्नुभयो।

नगरसभामा सहभागी जनप्रतिनिधिहरूले प्रस्तुत बजेटले समावेशी विकास, आर्थिक समृद्धि तथा नागरिकमैत्री सेवा प्रवाह लाई थप सुदृढ बनाउने बताएका छन्। आगामी आर्थिक वर्षमा विकास निर्माणका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

भजनी नगरपालिकाले सार्वजनिक गरेको बजेटलाई विकास, सुशासन र जनमुखी सेवातर्फ केन्द्रित महत्वाकांक्षी योजनाका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?