बर्दगोरिया, असार १०। कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ९ करोड २१ लाख १५ हजार ६ सय ५० रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको सभाध्यक्षतामा बुधबार सम्पन्न १८औँ गाउँसभा बैठकमा वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता मिथुन गौतमले बजेट प्रस्तुत गर्नुभएको हो।
प्रस्तुत बजेटअनुसार चालुतर्फ ३७ करोड २४ लाख ५० हजार रुपैयाँ, पुँजीगततर्फ ५१ करोड ४६ लाख ६५ हजार ६ सय ५० रुपैयाँ तथा सामाजिक सुरक्षा कार्यक्रमका लागि २० करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
एक अर्बभन्दा बढीको बजेट ल्याएको गाउँपालिकाको आन्तरिक आम्दानी भने ३ करोड ८२ लाख ३३ हजार ८ सय रुपैयाँ मात्रै रहेको छ। बजेटका स्रोतहरूमा राजस्व बाँडफाँडबाट ११ करोड ५१ लाख ४१ हजार रुपैयाँ, नेपाल सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५६ करोड ९८ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेश सरकारबाट ९ करोड २४ लाख २७ हजार रुपैयाँ तथा गत वर्षको मौज्दात (अ.ल्या.) ७ करोड ५ लाख १३ हजार ८ सय ५० रुपैयाँ समावेश छन्।
गाउँपालिकाले आगामी वर्षका लागि कृषि उत्पादन र व्यवसायीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा खानेपानी, भूमि समस्या समाधान आयोगको नापजाँच प्रक्रिया, दिगो पूर्वाधार विकास, युवा तथा खेलकुद, रोजगारी सिर्जना, आर्थिक विकास तथा राजस्व परिचालन, सूचना प्रविधि, सामाजिक विकास, गरिबी न्यूनीकरण तथा सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ।
त्यसैगरी, ग्रामीण पर्यटन र होमस्टे प्रवर्द्धन, सांस्कृतिक पहिचान संरक्षण तथा बाह्य–आन्तरिक पर्यटक आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ।
युवालाई लक्षित गर्दै गाउँपालिकाले खेलकुद विकास समिति गठन, खेल मैदान निर्माण तथा मर्मत, खेलकुद गतिविधि सञ्चालन, सीपमूलक तथा उद्यमशीलता विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ। विपन्न युवा–युवतीहरूलाई इलेक्ट्रोनिक्स, प्लम्बिङ, ब्युटिपार्लर, पशुपालन लगायतका तालिम प्रदान गरी आत्मनिर्भर र स्वरोजगार बनाउने लक्ष्यसमेत राखिएको छ।
बर्दगोरिया गाउँपालिकाले गत आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब २ करोड ९१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ।
स्थानीय विकास, कृषि आधुनिकीकरण, रोजगार सिर्जना तथा पूर्वाधार विस्तारलाई केन्द्रमा राखेर ल्याइएको बजेटले बर्दगोरियाको समग्र विकासलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।


