काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न समुदायबीच सामाजिक सद्भाव, आपसी मेलमिलाप र एकताको भावना कायम राख्न आग्रह गरेका छन्। बिहीबार जारी गरिएको सद्भाव सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै नेपाली समाजको विविधता नै नेपालको विशेषता र गौरव भएको बताएका छन्।

हालै सुनसरी जिल्लाको केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व तथा विवादबाट जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिँदै गएकोप्रति उनले दुःख व्यक्त गरेका छन्।
सन्देशमा उनले यस्ता घटनाले नेपाली समाजको मौलिक मूल्य र मान्यतामाथि असर पार्ने भन्दै कुनै पनि पक्षबाट सामाजिक सद्भाव खलल पार्ने कार्य हुन नहुने बताएका छन्।उनले भनेका छन्, “जोसुकै भू–भागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं। हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो।”
पूर्वराजाले सबै समुदायबीच आपसी सम्मान, सहिष्णुता र भाइचाराको भावना कायम राख्नसमेत आग्रह गरेका छन्।


