बर्दगोरिया, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा दशैं–तिहारको अवसर पारेर मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा आगामी कार्तिक १२ गतेदेखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो।

बर्दगोरिया पत्रकार मञ्चका अध्यक्ष कृष्णप्रसाद ओझाका अनुसार चाडपर्वको अवसरमा आपसी मित्रता, भाइचारा र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा प्रथम हुने टिमलाई आकर्षक पुरस्कारस्वरूप खसी र दोस्रो हुने टिमलाई बोका प्रदान गरिने आयोजकले जनाएको छ। चाडपर्वको उल्लाससँगै खेलकुदका माध्यमबाट विभिन्न क्षेत्र तथा समुदायबीच आत्मीयता बढाउने लक्ष्य आयोजकले लिएको छ। मञ्चले हरेक वर्ष बर्दगोरियामा दशै तिहारको अबसरमा प्रतियोगिता गर्दै आएको छ ।
स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुका साथै युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्न र समुदायबीचको सम्बन्धलाई थप सुमधुर बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
चाडपर्वलाई खेलकुद, मनोरञ्जन र आपसी सद्भावसँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय खेलप्रेमीहरूमा उत्साह थप्ने विश्वास आयोजकले लिएको छ।



