मुसिकोट । रुकुमपूर्वकमा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका-५ चोकबजारका ४५ वर्षीय गोपाल विकको मृत्यु भएको हो ।
दहमा कमलको पोटा टिप्न गएका विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वक प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
विक दहमा डुबेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर उनको उद्धार गरेको थियो ।
विकलाई जिल्ला अस्पताल पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रनाउ डाँगीले बताएका छन् ।
यस्तै रुकुमपश्चिमको मुसिकोट नगरपालिका-१ निपानेमा अन्दाजी ३५-४० वर्षीया महिलाको शव फेला परेको छ । ती महिलाको टाउकाको भाग सडेर अलग भएको प्रहरीले फेला पारेको थियो ।
महिलाको पहिचान भने नखुलेको प्रहरी प्रमुख नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । उनका अनुसार शव जिल्ला अस्पताल सल्लेमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सोतीले बताए।