काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ ।
देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । कोसी, वाग्ममती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँग प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरू पनि पदबाट राजीनामा बुझाएका छन् ।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने– ‘मुख्यमन्त्रीज्यू यहाँ नभएपछि उहाँसँग टेलिफोन संवाद भयो । साथै समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्री कार्यालयमा दर्ता गराएका छौँ । हाम्रा मन्त्रीहरूले पनि सरकारबाट राजीनामा दिनुभयो ।’
मुख्यमन्त्री दीर्घ सोडारी अहिले काठमाडौँ छन् । उनको अनुपस्थितिमा मुख्यमन्त्री कार्यालयमा पत्र दर्ता गराएको पूर्व मुख्यमन्त्री समेत रहेका नेता रावलले बताए ।एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसैबिच नेता रावलले मुख्यमन्त्री सोडारीले नैतिक रूपमा पदबाट राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग खुला गर्नुपर्ने बताए ।
(रातोपाटीको सहयोगमा)
बर्दगोरियामा स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा स्वास्थ्य बीमा कार्यक्रमको सुदृढीकरण र प्रभावकारीताका लागि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बुधबार पालिकाको आयोजनामा स्वास्थ्य बीमा सम्बन्धी प्रावधान, प्रक्रिया र दर्ताको वर्तमान अवस्थाबारे पालिका अन्तर्गतका स्वास्थ्य बीमा दर्ता सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधिहरुलाई जानकारी गराउने हेतुले उक्त अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रमम राष्ट्रिय बीमा बोर्डका दर्ता अधिकारी गोविन्द राज ओझाले सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम, यसको उदेश्य ,सुदृढीकरण र प्रभावकारीताका विषयमा प्रकाश प्रारेका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य बीमा कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताए । स्वास्थ्य बीमामा जनताको पहुँच अभिवृद्धि गर्न स्थानीय सरकारको भुमिका निकै महत्त्वपूर्ण रहने बताउदै स्वास्थ्य बीमा कार्यक्रमलाई सबैको घरदैलो भित्र पुर्याउन सकेमात्र स्वास्थ्यको पहुँच बाहिर रहेका जनतालाई स्वास्थ्यको पहुँचमा जोड्न सकिने बताए ।उनले भने, स्वास्थ्य बीमा नितान्त गरिब र बिपन्नलाई सहयोग पुग्ने कार्यक्रम भएको हुदा बीमा गर्न आवश्यक रहेको बताए । उपाध्यक्ष गिरिले नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा प्रत्याभुत गरेसँगै स्वास्थ्य सेवामा राज्यको नागरिकप्रतिको दायित्व झनै बढेर गएको बताए ।
उपाध्यक्ष गिरिले राज्यले आफ्ना सम्पूर्ण नागरिकलाई बीमामा आवद्ध गराउने लक्ष्य राखेका बताउँदै हरेक नागरिकलाई बीमामा आवद्ध गराउन प्रमुख जिम्मेवार भने दर्ता सहयोगीको हुने भएकाले सहयोगीलाई हरेक परिवारसम्म पुग्न आग्रह गरे ।
कार्यक्रममा पालिकाको ३७ हजार ६२८ जनसंख्या मध्ये हालसम्म दस हजार ७२३ स्वास्थ्य बीमा सेवाग्राहीको संख्या रहेको जानकारी गराइएको थियो । जसमा अझैपनि पालिकामा २६ हजार ९०५ जना स्वास्थ्य बीमा लिन बाकी रहेको जानकारी गराइएको थियो ।
कार्यक्रममा पालिका उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकिय अधिकृत प्रकाश ढुंगाना, स्वास्थ्य शाखा प्रमुख मीन धामी, पालिका अन्तर्गतका स्वास्थ्य बीमा दर्ता सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने भएका छन् । आज बस्ने संघीय संसद् प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने छन् ।
संसद् सचिवालयका अनुसार संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
जनता समाजवादी पार्टी नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो । एकजना सांसदले समर्थन फिर्ता लिए पनि सरकारले विश्वासको मत लिनु पर्ने संविधानको धारा १०० को उपधारा २ मा व्यवस्था छ ।
यसैबीच, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बिहान १० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले यो चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।
बबई नदिमा डुबेर दाजुभाईको मृत्यु
तुलसीपुर (दाङ) । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।
भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए ।
दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए । रासस
शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
काठमाडौँ । शिक्षकहरूले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइको साथ कार्यान्वयन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी, सामुदायिक तथा संस्थागत शिक्षालयका प्राध्यापक वा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गरिने बताए ।
शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावलीमा शिक्षकहरूले कुनै पनि दलको सदस्य हुन नपाउने व्यवस्था गरेको छ । तर, शिक्षकहरू विभिन्न दलको कार्यकारिणी समितिमा, महाधिवेशन प्रतिनिधि, दलको सदस्यता लिने जस्ता कार्यमा संलग्न हुँदै आएका छन् ।
यसलाई निरुत्साहित गर्नका लागि शिक्षा मन्त्रालयले दलको सदस्यता लिएका शिक्षकलाई कारबाही गर्न निर्देशन दिइसकेको छ । सोही आधारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिँदै दलको सदस्यता लिएका शिक्षकहरूमाथि छानबिन गर्न निर्देशन दिइसकेको छ ।
३० वैशाख ,सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरूलाई कुनै राजनीतिक दलको कार्यकारी पदमा बसेको वा सदस्यता लिएको भए १५ दिनभित्र राजीनामा दिई सो को जानकारी गराउन सूचना जारी गरेको छ ।शिक्षक तथा कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित उजुरी आएमा कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने गाउँ शिक्षा समितिको बैठकबाट निर्णय भएको सूचनामा उल्लेख छ । गाउँपालिकाले बिहीबार सूचना जारी गरी शिक्षक तथा कर्मचारीलाई दलको सदस्यता त्याग्न १५ दिनको समय दिएको हो ।
गाउँपालिका भित्रका विद्यालयहरूमा कार्यरत कुनै पनि शिक्षक-कर्मचारीहरूले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेको वा सदस्यता लिएको भए १५ दिनभित्र सम्बन्धित राजनीतिक दलबाट राजीनामा दिई सो को जानकारी यस कार्यालयमा पेस गर्न र पछि प्रमाणसहित राजनीतिक दलको सदस्यता सम्बन्धी उजुरी आएमा कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने भनी गाउँ शिक्षा समितिको मिति २०८१/०१/२४ को बैठकबाट निर्णय भएको हुँदा सोही बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ,’ शिक्षा अधिकारी सरस्वती भण्डारीद्वारा जारी सूचनामा भनिएको छ ।
कपुरकोट गाउँपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीहरू कुनै पनि राजनैतिक दलको सक्रिय सदस्यता लिइएको वा कार्यकारी पदमा क्रियाशील रहेको भएमा निजहरूलाई उल्लेखित पदहरूबाट राजीनामा गराइ सो को जानकारी पालिकालाई गराइ सार्वजनिक शिक्षा तथा सेवा प्रवाहलाई निष्पक्ष र मर्यादित बनाउन महत्त्वपूर्णमा सहयोगको लागि हार्दिक अनुरोध छ ।’
दर्खास्त नपरेपछि शिक्षकका लागि पाँचौँ पटक विज्ञापन
काठमाडौँ । प्युठानको एउटा विद्यालयले शिक्षकका लागि पाँच पटक सूचना निकालेको छ । ग्रामीण र दुर्गम क्षेत्रमा शिक्षकको अभाव छ भन्ने यो पछिल्लो उदाहरण हो ।
गौमुखी गाउँपालिका वडा नं १ मा रहेको अर्खा माध्यमिक विद्यालयले माध्यमिक तह संघीय अनुदान कोटाको विज्ञान विषयको पदका लागि पाँचौँ पटक सूचना निकालेर दर्खास्त आह्वान गरेको हो । पटक पटकको विज्ञापनमा दर्खास्त नपरेपछि पाँचौँ पटक विज्ञापन गर्नु परेको विद्यालयका प्रधानाध्यापक लिलु प्रसाद पौडेलले जानकारी दिए । दर्खास्त नपरेपछि विद्यालयले पछिल्लो पटक अध्यापन अनुमति पत्र नभएकाहरूले पनि निवेदन दिन सक्ने गरी दर्खास्त आह्वान गर्न बाध्य भएको छ ।
पहिलो पटक गत फागुन २६ को निर्णय अनुसार १५ दिनको म्याद राखेर दर्खास्त आह्वान गरिएको थियो । त्यति बेला कुनै निवेदन परेन । दोस्रो पटक ७ सात दिनको म्याद राखेर निवेदन आह्वान गरेकोमा त्यति बेला पनि कुनै दर्खास्त नपरेको प्रधानाध्यापक पौडेलले बताए । उनका अनुसार तेस्रोमा पटक पनि दर्खास्त परेन ।
चौथो पटक दुई जनाको निवेदन परेकोमा दुवै उम्मेदवार नआएपछि विद्यालयले पाँचौँ पटक दर्खास्त आह्वान गरेको हो । आवेदन नै नपरेपछि अध्यापन अनुमति पत्र नभएको योग्य व्यक्तिले समेत दर्खास्त दिन सक्ने, तर अध्यापन अनुमति पत्र भएको व्यक्तिलाई प्राथमिकता दिने गरी पाँचौँ पटक सूचना निकालेको प्रधानाध्यापक पौडेलले बताए ।
अध्ययन अनुमति पत्र नभएका व्यक्तिको फोन आएकाले विद्यालयले अध्ययन अनुमति पत्र नभएकाले पनि निवेदन दिन सक्ने गरी दर्खास्त आह्वान गरेको हो । बिहीबारसम्म जम्मा दुई जनाको निवेदन परेको छ ।
उक्त पदका लागि करिब ४३ हजार पाँच सय तलब स्केल छ । ग्रामीण क्षेत्रका विद्यालयमा ट्युसनलगायतका अतिरिक्त कक्षाबाट थप आम्दानी नहुने भएकाले शिक्षकहरू आउन नचाएको पौडेलले बताए । गाउँपालिकाका सूचना अधिकारी दुर्गा प्रसाद सुवेदीले संघीय अनुदानमा रहेको पदमा शिक्षकको अभाव रहेको जानकारी दिए ।
बर्दगोरिया १ कट्टिपुरमा मंगलबारदेखि २४ कुण्डिय गायत्री महायज्ञ संचालन हुँदै
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुरमा मंगलबारदेखि २४ कुण्डिय गायत्री महायज्ञ संचालन हुँदैछ । अखिल विश्व गायत्री परिवार प्रज्ञा मण्डल बर्दगोरियाको आयोजनामा संचालन हुन लागेको महायज्ञको तयारी लगभग पूरा भएको आयोजकले जनाएको छ ।२४ कुण्डिय गायत्री महायज्ञमा भारतको प्रज्ञा अभियान शाँन्तीकुन्ज हरिद्धारका धर्म गुरुको विशेष उपस्थिति हुने आयोजकले जनाएको छ ।
महायज्ञका माध्यमबाट मानवमा आचिन्ता चिन्तनलाई परिवर्तन गरेर समाजमा नैतिक मूल्यको स्थापना गर्न मुख्य उद्धेश्य रहेको अखिल विश्व गायत्री परिवार प्रज्ञा मण्डल बर्दगोरियाका अध्यक्षका रङ्गलाल शर्मा रिमालले जानकारी दिए ।
भारतको प्रज्ञा अभियान शाँन्तीकुन्ज विश्वविद्यालय हरिद्धारद्धारा संचालित ज्ञान, यज्ञ, कथाहरुको लोकप्रियता सबै भन्दा महत्वपुुुर्ण मानीन्छ । पावन प्रज्ञा पुुरान कथाको बिशेष एउटा प्रकाश स्तम्भ हो । महायज्ञको उद्घाटनका दिन मंगलबार बिहान बृहत कलशयात्रा गरिनेछ ।
मानवले जीवन जिउने कला प्रज्ञा पुराणको विशेषता भएको उल्लेख गर्दै भक्तजनलाई महायज्ञमा सहभागी हुन वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले आग्रह गरे ।
आयोजककाअनुसार महायज्ञ बैशाख १४ गतेसम्म संचालन हुनेछ । यसअघि ९० दिन अगाबै महायज्ञलाई लक्षित गरि महायज्ञ स्थल परिसरमा भुमी पुजा गरिएको थियो । कुनै पनि शुभ कार्य गर्नु पहिला भुमी पुजा गर्नुले भुमी सुद्द हुने र कार्य सफल हुने भएको हुँदा पुजा गरिएको अखिल विश्व गायत्री परिवार प्रज्ञा मण्डलको भनाई छ ।