शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
काठमाडौँ । शिक्षकहरूले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइको साथ कार्यान्वयन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी, सामुदायिक तथा संस्थागत शिक्षालयका प्राध्यापक वा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गरिने बताए ।
शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावलीमा शिक्षकहरूले कुनै पनि दलको सदस्य हुन नपाउने व्यवस्था गरेको छ । तर, शिक्षकहरू विभिन्न दलको कार्यकारिणी समितिमा, महाधिवेशन प्रतिनिधि, दलको सदस्यता लिने जस्ता कार्यमा संलग्न हुँदै आएका छन् ।
यसलाई निरुत्साहित गर्नका लागि शिक्षा मन्त्रालयले दलको सदस्यता लिएका शिक्षकलाई कारबाही गर्न निर्देशन दिइसकेको छ । सोही आधारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिँदै दलको सदस्यता लिएका शिक्षकहरूमाथि छानबिन गर्न निर्देशन दिइसकेको छ ।
३० वैशाख ,सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरूलाई कुनै राजनीतिक दलको कार्यकारी पदमा बसेको वा सदस्यता लिएको भए १५ दिनभित्र राजीनामा दिई सो को जानकारी गराउन सूचना जारी गरेको छ ।शिक्षक तथा कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित उजुरी आएमा कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने गाउँ शिक्षा समितिको बैठकबाट निर्णय भएको सूचनामा उल्लेख छ । गाउँपालिकाले बिहीबार सूचना जारी गरी शिक्षक तथा कर्मचारीलाई दलको सदस्यता त्याग्न १५ दिनको समय दिएको हो ।गाउँपालिका भित्रका विद्यालयहरूमा कार्यरत कुनै पनि शिक्षक-कर्मचारीहरूले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेको वा सदस्यता लिएको भए १५ दिनभित्र सम्बन्धित राजनीतिक दलबाट राजीनामा दिई सो को जानकारी यस कार्यालयमा पेस गर्न र पछि प्रमाणसहित राजनीतिक दलको सदस्यता सम्बन्धी उजुरी आएमा कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने भनी गाउँ शिक्षा समितिको मिति २०८१/०१/२४ को बैठकबाट निर्णय भएको हुँदा सोही बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ,’ शिक्षा अधिकारी सरस्वती भण्डारीद्वारा जारी सूचनामा भनिएको छ ।कपुरकोट गाउँपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीहरू कुनै पनि राजनैतिक दलको सक्रिय सदस्यता लिइएको वा कार्यकारी पदमा क्रियाशील रहेको भएमा निजहरूलाई उल्लेखित पदहरूबाट राजीनामा गराइ सो को जानकारी पालिकालाई गराइ सार्वजनिक शिक्षा तथा सेवा प्रवाहलाई निष्पक्ष र मर्यादित बनाउन महत्त्वपूर्णमा सहयोगको लागि हार्दिक अनुरोध छ ।’
दर्खास्त नपरेपछि शिक्षकका लागि पाँचौँ पटक विज्ञापन
काठमाडौँ । प्युठानको एउटा विद्यालयले शिक्षकका लागि पाँच पटक सूचना निकालेको छ । ग्रामीण र दुर्गम क्षेत्रमा शिक्षकको अभाव छ भन्ने यो पछिल्लो उदाहरण हो ।
गौमुखी गाउँपालिका वडा नं १ मा रहेको अर्खा माध्यमिक विद्यालयले माध्यमिक तह संघीय अनुदान कोटाको विज्ञान विषयको पदका लागि पाँचौँ पटक सूचना निकालेर दर्खास्त आह्वान गरेको हो । पटक पटकको विज्ञापनमा दर्खास्त नपरेपछि पाँचौँ पटक विज्ञापन गर्नु परेको विद्यालयका प्रधानाध्यापक लिलु प्रसाद पौडेलले जानकारी दिए । दर्खास्त नपरेपछि विद्यालयले पछिल्लो पटक अध्यापन अनुमति पत्र नभएकाहरूले पनि निवेदन दिन सक्ने गरी दर्खास्त आह्वान गर्न बाध्य भएको छ ।
पहिलो पटक गत फागुन २६ को निर्णय अनुसार १५ दिनको म्याद राखेर दर्खास्त आह्वान गरिएको थियो । त्यति बेला कुनै निवेदन परेन । दोस्रो पटक ७ सात दिनको म्याद राखेर निवेदन आह्वान गरेकोमा त्यति बेला पनि कुनै दर्खास्त नपरेको प्रधानाध्यापक पौडेलले बताए । उनका अनुसार तेस्रोमा पटक पनि दर्खास्त परेन ।
चौथो पटक दुई जनाको निवेदन परेकोमा दुवै उम्मेदवार नआएपछि विद्यालयले पाँचौँ पटक दर्खास्त आह्वान गरेको हो । आवेदन नै नपरेपछि अध्यापन अनुमति पत्र नभएको योग्य व्यक्तिले समेत दर्खास्त दिन सक्ने, तर अध्यापन अनुमति पत्र भएको व्यक्तिलाई प्राथमिकता दिने गरी पाँचौँ पटक सूचना निकालेको प्रधानाध्यापक पौडेलले बताए ।
अध्ययन अनुमति पत्र नभएका व्यक्तिको फोन आएकाले विद्यालयले अध्ययन अनुमति पत्र नभएकाले पनि निवेदन दिन सक्ने गरी दर्खास्त आह्वान गरेको हो । बिहीबारसम्म जम्मा दुई जनाको निवेदन परेको छ ।
उक्त पदका लागि करिब ४३ हजार पाँच सय तलब स्केल छ । ग्रामीण क्षेत्रका विद्यालयमा ट्युसनलगायतका अतिरिक्त कक्षाबाट थप आम्दानी नहुने भएकाले शिक्षकहरू आउन नचाएको पौडेलले बताए । गाउँपालिकाका सूचना अधिकारी दुर्गा प्रसाद सुवेदीले संघीय अनुदानमा रहेको पदमा शिक्षकको अभाव रहेको जानकारी दिए ।
बर्दगोरिया १ कट्टिपुरमा मंगलबारदेखि २४ कुण्डिय गायत्री महायज्ञ संचालन हुँदै
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुरमा मंगलबारदेखि २४ कुण्डिय गायत्री महायज्ञ संचालन हुँदैछ । अखिल विश्व गायत्री परिवार प्रज्ञा मण्डल बर्दगोरियाको आयोजनामा संचालन हुन लागेको महायज्ञको तयारी लगभग पूरा भएको आयोजकले जनाएको छ ।२४ कुण्डिय गायत्री महायज्ञमा भारतको प्रज्ञा अभियान शाँन्तीकुन्ज हरिद्धारका धर्म गुरुको विशेष उपस्थिति हुने आयोजकले जनाएको छ । महायज्ञका माध्यमबाट मानवमा आचिन्ता चिन्तनलाई परिवर्तन गरेर समाजमा नैतिक मूल्यको स्थापना गर्न मुख्य उद्धेश्य रहेको अखिल विश्व गायत्री परिवार प्रज्ञा मण्डल बर्दगोरियाका अध्यक्षका रङ्गलाल शर्मा रिमालले जानकारी दिए ।भारतको प्रज्ञा अभियान शाँन्तीकुन्ज विश्वविद्यालय हरिद्धारद्धारा संचालित ज्ञान, यज्ञ, कथाहरुको लोकप्रियता सबै भन्दा महत्वपुुुर्ण मानीन्छ । पावन प्रज्ञा पुुरान कथाको बिशेष एउटा प्रकाश स्तम्भ हो । महायज्ञको उद्घाटनका दिन मंगलबार बिहान बृहत कलशयात्रा गरिनेछ ।मानवले जीवन जिउने कला प्रज्ञा पुराणको विशेषता भएको उल्लेख गर्दै भक्तजनलाई महायज्ञमा सहभागी हुन वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले आग्रह गरे ।आयोजककाअनुसार महायज्ञ बैशाख १४ गतेसम्म संचालन हुनेछ । यसअघि ९० दिन अगाबै महायज्ञलाई लक्षित गरि महायज्ञ स्थल परिसरमा भुमी पुजा गरिएको थियो । कुनै पनि शुभ कार्य गर्नु पहिला भुमी पुजा गर्नुले भुमी सुद्द हुने र कार्य सफल हुने भएको हुँदा पुजा गरिएको अखिल विश्व गायत्री परिवार प्रज्ञा मण्डलको भनाई छ ।
आफ्ना राजालाई पाखा लगाएर सरकारले विदेशी राजालाई सम्मान दिएको राप्रपाको टिप्पणी
काठमाडौँ । कतारका राजाको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्वागत गरेको छ। तर आफ्ना राजालाई पाखा लगाएर विदेशी राजालाई सम्मान गरेको टिप्पणी गरेको छ ।
राप्रपाका एक नेताले नेपालका राजालाई पनि सम्मान गर्न आग्रह गरेका छन्। विदेशीको योजनामा नेपालका राजालाई पाखा लगाइएको उनको भनाइ छ। उनले नेपालका राजालाई पनि स्थान, श्रीपेच र इज्जत दिन माग गरेका छन्।
राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै सरकारलाई ४० बुँदै ज्ञापनपत्र बुझाएको छ।
वैशाख ,३ बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका वडा न. १ स्थित शिद्धेश्वर मा.वि. मेल्चोरामा कक्षा ८ को परीक्षामा सबै अनुत्तीर्ण भएपछि प्रधानाध्यापकले पदबाट राजीनामा दिएका छ्न ।
हालै प्रकाशन भएको नगरपालिका स्तरीय कक्षा ८ को परीक्षामा सबै विद्यार्थीहरू अनुत्तीर्ण भएपछि प्रधानाध्यापक प्रकाश लोहारले राजीनामा दिएका हुन । प्रधानाध्यापक लोहारले विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मत सिंह रावल समक्ष राजीनामा बुझाएका छ्न । उनको राजीनामा आइतबार नै अध्यक्ष रावलले स्वीकृत गरेका छ्न ।
कमजोर आएपछि आफूले प्रधानाध्यापक पदबाट राजीनामा दिएको उनले बताए । कक्षा ८ मात्र नभई १ देखी ९ सम्मकै नतिजा सन्तोषजनक नआएको लोहारको भनाई छ । विभिन्न दबाबका कारण सोचेअनुसार काम गर्ने वातावरण नभएको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिले शिक्षक उद्धव भट्टराईलाई अहिलेका लागि निमित्त प्रधानाध्यापकको जिम्मा दिएको छ भने ७ गते भित्र नयाँ प्रधानाध्यापक नियुक्त गर्ने जनाएको छ । जसका लागि शिक्षकहरूबाट विद्यालय विकास प्रस्ताव माग गरिएको विद्यालय स्रोतले जनाएको छ ।यसपाली पाटन नगरपालिका भित्र रहेका विद्यालयहरू मध्ये कक्षा ८ मा ७ विद्यालयको नतिजा निल आएको समाचार बैतडी बुलेटिनमा प्रकाशित छ ।
आजको मौसम ;कोसी, गण्डकी र कर्णाली प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
विभागका अनुसार कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै र बाँकी पहाडी भू–भागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ विभागले जनाएको छ ।
अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मेल्लेख–७, नन्देगडाको सुयडीमा सोमबार भएको सो दुर्घटनामा तीनजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।
षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडीनजिकै दुर्घटना भएको हो । दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएका प्रहरी निरीक्षक साउदले बताए ।
मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् । घाइते तीनैजनालाई उपचारका निम्ति बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ । रासस
बालकन्या माविको १० बिगाहा जग्गा; स्वामित्व पश्चात् नाप नक्सासहित संरक्षणको कार्य सुरु
बर्दगोरिया । वर्षौपछि स्वामित्वमा आएपछि कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको बालकन्या माध्यमिक विद्यालयको अतिक्रमित जग्गामा संरक्षणको कार्य अगाडि बढाइएको छ ।स्थानीय नदी, प्रस्तावित काडा सामुदायिक वन र स्थानीयको अतिक्रमणको चपेटामा परेको विद्यालयको करिब १० विगाहा जग्गा विद्यालयकै स्वामित्वमा ल्याई नाप नक्साङ्कन गरि संरक्षणको कार्य सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त जैशी (खतिवडा)ले बताए ।अध्यक्ष जैशीकाअनुसार विद्यालय स्थापनाको समय २०४६ सालमा साविकको कट्टिपुर खल्लामा रहेको विद्यालयको करिब १० बिगाहा जग्गालाई संरक्षण गरि प्रयोगमा ल्याउने उदेश्यका साथ काम अगाडि बढाइएको छ ।अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याउने योजनास्वरुप बालकन्या माविको जग्गा विद्यालयकै नियन्त्रणमा ल्याउन यसअघि यहाँका सरोकारवाला निकायले खोजीकार्य गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जैशीले दिएको जानकारीअनुसार विद्यालय स्थापनाको समयमा साविकको दोदोधरा गाविसबाट कट्टिपुर खल्लामा १० बिगाहा जग्गा विद्यालयले (भोगचलल) प्रयोग गर्न पाउने भनी निर्णय भएको प्रमाण भेटिएको थियो । सोही प्रमाणका आधारमा विद्यालयको जग्गा विद्यालयकै स्वामित्वमा ल्याइउने प्रक्रिया अगाडि बढाइएको थियो ।
जसअनुसार २०८० भाद्र २६ गते बसेको सर्वपक्षीय भेलाले अतिक्रमीत जग्गा विद्यालयलाई नै दिने र २०६२/६३ मा भएको सीमा निर्धारणको निर्णयलाई आधार मानी कार्य अगाडि बढाउने सहमति भएको थियो । सो सहमति पश्चात् विद्यालयको अतिक्रमित जग्गाको सिमा निर्धारणको कार्य अगाडि बढाइएको थियो ।
वर्षौपछि विद्यालयको अतिक्रमित जग्गा विद्यालयको नियन्त्रणमा ल्याइएपछि अहिले विद्यालयको सो जग्गामा घेरबारको काम सुरु गरिनुका साथै स्थानीय काडा नदीको अतिक्रमबाट जोगाउन तटबन्ध निर्माणको कार्य थालिएको छ ।स्थानीयकाअनुसार प्राथमिक तहबाट स्कुल संचालनमा रहेको थियो । तत्पस्चात स्थानीय काडानदिको कटानबाट विद्यालय संचालनको अबस्था प्रभावित बनेपछि त्यहाँबाट कट्टिपुर गाउँमा सारिएको थियो ।
बडादसैँ सुरु, आज घटस्थापना, बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापनाको लागि उत्तम
काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ ।
बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ ।
यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।
दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।