वैशाख ,३ बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका वडा न. १ स्थित शिद्धेश्वर मा.वि. मेल्चोरामा कक्षा ८ को परीक्षामा सबै अनुत्तीर्ण भएपछि प्रधानाध्यापकले पदबाट राजीनामा दिएका छ्न ।
हालै प्रकाशन भएको नगरपालिका स्तरीय कक्षा ८ को परीक्षामा सबै विद्यार्थीहरू अनुत्तीर्ण भएपछि प्रधानाध्यापक प्रकाश लोहारले राजीनामा दिएका हुन । प्रधानाध्यापक लोहारले विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मत सिंह रावल समक्ष राजीनामा बुझाएका छ्न । उनको राजीनामा आइतबार नै अध्यक्ष रावलले स्वीकृत गरेका छ्न ।
कमजोर आएपछि आफूले प्रधानाध्यापक पदबाट राजीनामा दिएको उनले बताए । कक्षा ८ मात्र नभई १ देखी ९ सम्मकै नतिजा सन्तोषजनक नआएको लोहारको भनाई छ । विभिन्न दबाबका कारण सोचेअनुसार काम गर्ने वातावरण नभएको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिले शिक्षक उद्धव भट्टराईलाई अहिलेका लागि निमित्त प्रधानाध्यापकको जिम्मा दिएको छ भने ७ गते भित्र नयाँ प्रधानाध्यापक नियुक्त गर्ने जनाएको छ । जसका लागि शिक्षकहरूबाट विद्यालय विकास प्रस्ताव माग गरिएको विद्यालय स्रोतले जनाएको छ ।यसपाली पाटन नगरपालिका भित्र रहेका विद्यालयहरू मध्ये कक्षा ८ मा ७ विद्यालयको नतिजा निल आएको समाचार बैतडी बुलेटिनमा प्रकाशित छ ।