धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँग प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरू पनि पदबाट राजीनामा बुझाएका छन् ।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने– ‘मुख्यमन्त्रीज्यू यहाँ नभएपछि उहाँसँग टेलिफोन संवाद भयो । साथै समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्री कार्यालयमा दर्ता गराएका छौँ । हाम्रा मन्त्रीहरूले पनि सरकारबाट राजीनामा दिनुभयो ।’
मुख्यमन्त्री दीर्घ सोडारी अहिले काठमाडौँ छन् । उनको अनुपस्थितिमा मुख्यमन्त्री कार्यालयमा पत्र दर्ता गराएको पूर्व मुख्यमन्त्री समेत रहेका नेता रावलले बताए ।एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसैबिच नेता रावलले मुख्यमन्त्री सोडारीले नैतिक रूपमा पदबाट राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग खुला गर्नुपर्ने बताए ।
(रातोपाटीको सहयोगमा)
आफ्ना राजालाई पाखा लगाएर सरकारले विदेशी राजालाई सम्मान दिएको राप्रपाको टिप्पणी
काठमाडौँ । कतारका राजाको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्वागत गरेको छ। तर आफ्ना राजालाई पाखा लगाएर विदेशी राजालाई सम्मान गरेको टिप्पणी गरेको छ ।
राप्रपाका एक नेताले नेपालका राजालाई पनि सम्मान गर्न आग्रह गरेका छन्। विदेशीको योजनामा नेपालका राजालाई पाखा लगाइएको उनको भनाइ छ। उनले नेपालका राजालाई पनि स्थान, श्रीपेच र इज्जत दिन माग गरेका छन्।
राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै सरकारलाई ४० बुँदै ज्ञापनपत्र बुझाएको छ।
सर्बोच्च अदालतको निर्णय विपरीत मोहन्याल गाउँपालिकाले दियो जनयुद्ध दिवशको बिदा !
मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिकाले सर्वोच्च अदालतको फैसलाविरुद्ध ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गते बिदा दिने निर्णय गरेको छ ।
पालिकाले सोमबार सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा स्थानीय (सार्वजनिक ) बिदा दिएको उल्लेख छ । यसैगरी सोही दिन जनआन्दोलनमा शहिद,वेपत्ता र घाइते भएका व्यक्ति तथा आफन्तलाई सम्मान गर्ने कार्यक्रम राखिएको पालिका अध्यक्ष देवीदत्त उपाध्यायद्वारा जारी सूचनामा उल्लेख छ ।
मोहन्याल गाउँपालिका अध्यक्ष उपाध्याय माओवादी केन्द्रका हुन् ।अध्यक्ष उपाध्यायद्वारा जारी गरेको सार्वजनिक सूचनामा फागुन १ गते पालिकाभित्रका सबै वडा कार्यालय, विद्यालय तथा सरकारी कार्यालयमा बिदा दिइएको उल्लेख छ ।
के छ सर्वोच्चको फैसलामा ?
‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको थियो । ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारी निर्णय बदर गरेको थियो ।
पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा सर्वोच्चले नेपालको संविधानसहित अन्य आधिकारिक दस्ताबेजमा कहीँकतै ‘जनयुद्ध’ शब्द प्रयोग नगरिएको तथा सर्वोच्च अदालतबाट पनि ‘जनयुद्ध’ शब्द संविधानको भावनाअनुरूप नरहेको भनी स्पष्ट रूपमा बताएको उल्लेख छ ।
संविधानमा प्रयोग नै नभएको र संविधानले नचिनेको जनयुद्ध शब्दको प्रयोग गरी जनयुद्ध दिवस भनी सार्वजनिक बिदा दिने गरेको सरकारको निर्णय संवैधानिक व्यवस्था र संविधानमा प्रयोग भएको शब्द संवैधानिक नैतिकता, संविधानको मर्म, परिलक्ष र मूल भावना अनुकूल नदेखिएको सर्वोच्चको ठहर छ ।
धनगढी । नेकपा (एमाले)को पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन भएका छन् ।भीम रावल पक्षलाई २ उपसचिव दिएपछि पाँचौं दिनमा नेतृत्व चयन प्रक्रिया पूरा भएको हो ।
स्थायी कमिटी सदस्य कर्ण थापापक्षीय कृष्णप्रसाद जैसी प्रदेश अध्यक्ष बनेका छन् । अध्यक्षका आकांक्षी भरत साउद, कमल तिमिल्सिना, बचनबहादुर सिंहले उमेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।
तिमिल्सिना र सिंहले बुधबार नै उमेदवारी फिर्ता लिएका थिए । नेता भीम रावलपक्षीय साउदले उमेदवारी फिर्ता लिन मानेका थिएनन् । रावलनिकटलाई उपसचिव बनाउने सहमतिपछि उनी पछि हटेका हुन् ।
पाँचै पदाधिकारी सर्वसम्मत चयन भएका प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा कालीबहादुर शाही चुनिएका छन् ।
सचिवमा रणबहादुर चन्द, उपसचिवमा भागीरथी विष्ट र नरबहादुर विक चयन भएका पालले जानकारी दिए । सदस्यहरू पनि केही मात्र चुनिन बाँकी रहेको उनले बताए ।
यही असोज २१ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम अधिवेशन उद्घाटन गरेका थिए । यद्यपि सहमति जुटाउने नाममा अधिवेशनको अवधि लम्ब्याइएको थियो ।
कैलालीमा प्रतिनिधि चयनप्रति असन्तुष्टि जनाउँदै एमाले पार्टी कार्यालयमा तालाबन्दी
धनगढी । प्रतिनिधि चयनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले कैलालीको कार्यालयमा तादाबन्दी गरिएको छ । एमालेको कैलाली जिल्ला पार्टी धनगढी र सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरिएको हो । धनगढी उपमहानगर कमिटिले साेमबार प्रदेश अधिवेशनका लागि सर्वसम्मत रूपले प्रतिनिधि चयन गरेर जिल्ला कमिटिलाई सिफारिस गरेको थियो ।
प्रतिनिधि चयनमा एकलौटी र मनोमानी गरिएका कारण बाध्य भएर तालाबन्दी गरिएको एमाले जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्य किशोर शाहले बताए । शाहले पार्टीको विधि, विधान विपरीत हुनेगरी गरिएको प्रतिनिधि छनोट सिफारिस सच्याउनुपर्ने बताए ।युवा नेताहरुको समूहले पार्टीको विधि, विधान एवं पार्टी मूल्य मान्यतालाई लत्याएर प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएकोले तालाबन्दी गरिएको दाबी छ। नेकपा एमालेको यहीँ असोज २१ र २२ गते धनगढीमा प्रथम प्रदेश अधिवेशन तोकिएको छ।
नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह विजयी भएका छन् ।
सोमबार सम्पन्न मतगणनामा अध्यक्षका प्रतिस्पर्धी मीनबहादुर शाही र प्रकाश रोकायालाई हराउँदै शाह निर्वाचित भएका हुन् । शाहले ३६९ मत ल्याएका छन् । शाहीले २०७ र रोकायाले चार मत ल्याए ।
त्यस्तै, उपाध्यक्षमा टेकराज पछाई निर्वाचित भएका छन् । उनले ३४६ मत पाए । सचिवमा ध्रुवकुमार शाहीले ४०६ मत ल्याई विजयी भएका छन् ।
उपसचिवमा रमेशबहादुर शाही विजयी भए । उनले २६६ मत ल्याए ।
एमाले सुदुरपश्चिम प्रदेशको अधिबेशनका लागि बर्दगोरियाबाट ४ जना प्रतिनिधि सर्वसम्मत चयन
बर्दगोरिया । नेकपा ( एमाले ) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनको लागि बर्दगोरिया गाउँपालिकाबाट प्रतिनिधि छनौटमा चारजना सर्वसम्मत चयन भएका छ्न ।
अधिवेशनको लागि महिलातर्फ सावित्री सापकोटा, खुल्लातर्फ कर्ण बहादुर कुँवर, शिबराज कुँवर र भिम बहादुर कुँवर चयन भएका हुन ।
यतिबेला अधिवेशनको तयारी तीव्र पारिएको छ। प्रदेश कमिटीको असोज तेस्रो साता हुने प्रथम अधिवेशनका लागि सोमबार प्रतिनिधि छनोट गरिएको हो ।
एमाले प्रदेश कमिटीको निर्णय अनुसार असोज २१ र २२ गते हुने अधिवेशनका लागि सुदूरपश्चिमका ८८ वटा स्थानीय तहबाट एक साथ प्रतिनिधि छनोट हुन लागेका छ्न ।
सुदूरपश्चिम प्रदेशमा एमालेका ५३ हजार बढी संगठित सदस्य छन्। ती सदस्यले चुन्ने ६ सय बढी प्रतिनिधिले एमाले प्रदेशको आगामी नेतृत्व चयन गर्नेछन्।
लुम्बिनीबाट सुरु एमालेको प्रदेश अधिवेशन बागमतीमा सम्पन्न भइसकेको छ। नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले यसअघि सबै कार्यकर्तालाई अधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका थिए।
एमालेले ‘एक व्यक्ति एक पद’को नीति लागू गर्ने प्रयास गरेकाले अधिवेशन रोमाञ्चक हुने देखिएको छ। एमालेको सुदूरपश्चिम प्रदेश नेतृत्वका लागि कञ्चनपुरका बहादुर सिंह, अछामका कृष्ण जैसी, बाजुराका लालबहादुर थापा, कैलालीका झपटबहादुर रावल आकांक्षी देखिएको नेताहरु बताउँछन्।
पुराना दललाई रवि लामिछानेको चेतावनी–चार वर्षअघि नै घण्टी बजाएको छु, एउटा सटर बन्द हुने नै छ
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले ठूला दलले मिसन ०८४ गरेको पटक्कै नसुहाएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । उनले ठूला दललाई अहिले नै काम गर्ने समय भएको र चार चार वर्ष बाँकी हुँदा नै मिसन ०८४ को अर्थ नहुने बताएका हुन् ।
“जनताले तपाईंहरुलाई यसरी भोट दिऊन् कि हाम्रो जमानत जफत होस् । चार वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ । तपाईंहरु चार चार वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर ! कि तपाईंको कि हाम्रो । चार वर्षअघि नै एडभान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नुहोला ।”
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सडकपुर बौनिया युवा क्लबको १९ औं बार्षिक साधारण सभा तथा ७ औं चुनाबी साधारण सभा बिहिवार सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष जीवन बि सि को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथी गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।
क्लबका बरिस्ठ उपाध्यक्ष धिरज शाहिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क, सडकपुर बौनिया युवा क्लबका संस्थापक अध्यक्ष बल बहादुर बिष्ट , टेकराज जोशी, नेपाली काङ्ग्रेस बर्दगोरिया सभापति कृष्ण बिस्ट, नेकपा एमाले बर्दगोरियाका युवा दिपक गौतम, नेकपा माओवादी केन्द्र बर्दगोरिया अध्यक्ष राम बहादुर साउद , राष्ट्रिय स्वतन्त्र पार्टी बर्दगोरिया अध्यक्ष केशव भण्डारी , बौनिया बजार व्यवस्थापन समिती अध्यक्ष अमर बम , नेपाल रेडक्रस सोसाइटी दोदोधरा सभापति लक्ष्मीराज जोशी लगाएतका शुभकामना मन्तव्य राख्नु भएको थियो ।
अध्यक्षमा सहमति जुटन नसक्दा भाद्र २२ गते सम्म निर्वाचनको कार्यक्रम सारिएको छ । अध्यक्षमा क्लबका वरिष्ठ उपाध्यक्ष धिरज शाही र क्लबका महासचिव कृष्ण प्रसाद ओझा बिच सहमति जुट्न नसकेको हो । बाकी रहेको अन्य पदमा भने एकल उम्मेदवारी परेको छ । जसको उपाध्यक्षमा दिपक गौतम र महासचिवमा भरत ताम्राकारको एकल उम्मेदवारी परेको हो ।
कार्यक्रमको संचालन क्लबका महासचिव कृष्ण प्रसाद ओझाले गर्नु भएको थियो । साथै क्लबका पुर्ब अध्यक्ष प्रकाश साउद लाई क्लबले जिल्ला फुटबल संघमा मनोनीत भएकोमा दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष बल बहादुर बिष्ट , पुर्ब अध्यक्षहरु देव राज स्वार, तपेन्द्र खडका, प्रकाश साउद लगाएतको सहभागिता रहेको थियो ।