मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिकाले सर्वोच्च अदालतको फैसलाविरुद्ध ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गते बिदा दिने निर्णय गरेको छ ।
पालिकाले सोमबार सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा स्थानीय (सार्वजनिक ) बिदा दिएको उल्लेख छ । यसैगरी सोही दिन जनआन्दोलनमा शहिद,वेपत्ता र घाइते भएका व्यक्ति तथा आफन्तलाई सम्मान गर्ने कार्यक्रम राखिएको पालिका अध्यक्ष देवीदत्त उपाध्यायद्वारा जारी सूचनामा उल्लेख छ ।
![](https://sudurchitra.com/wp-content/uploads/2023/01/Green-Yellow-Modern-School-Admission-Open-Instagram-Post1.jpg)
मोहन्याल गाउँपालिका अध्यक्ष उपाध्याय माओवादी केन्द्रका हुन् ।अध्यक्ष उपाध्यायद्वारा जारी गरेको सार्वजनिक सूचनामा फागुन १ गते पालिकाभित्रका सबै वडा कार्यालय, विद्यालय तथा सरकारी कार्यालयमा बिदा दिइएको उल्लेख छ ।
के छ सर्वोच्चको फैसलामा ?
‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको थियो । ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारी निर्णय बदर गरेको थियो ।
पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा सर्वोच्चले नेपालको संविधानसहित अन्य आधिकारिक दस्ताबेजमा कहीँकतै ‘जनयुद्ध’ शब्द प्रयोग नगरिएको तथा सर्वोच्च अदालतबाट पनि ‘जनयुद्ध’ शब्द संविधानको भावनाअनुरूप नरहेको भनी स्पष्ट रूपमा बताएको उल्लेख छ ।
संविधानमा प्रयोग नै नभएको र संविधानले नचिनेको जनयुद्ध शब्दको प्रयोग गरी जनयुद्ध दिवस भनी सार्वजनिक बिदा दिने गरेको सरकारको निर्णय संवैधानिक व्यवस्था र संविधानमा प्रयोग भएको शब्द संवैधानिक नैतिकता, संविधानको मर्म, परिलक्ष र मूल भावना अनुकूल नदेखिएको सर्वोच्चको ठहर छ ।