धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा आईसीयू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोनाभाइरस संक्रमित ७३ वर्षीया एक महिलाको मृत्यु भएको छ ।
झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायका अनुसार पीसीआर पद्धतिबाट गरिएको नमुना परीक्षणमा नतिजा ‘पोजिटिभ’ आएपछि ६ दिनअघि उनलाई अस्पतालको कोभिड वार्डको आईसीयूमा भर्ना गरिएको थियो । ती महिलामा मुटुरोगको समस्या थियो ।
सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोनाभाइरसको संक्रमणदर उकालो लाग्न थालेको छ ।
सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप
कैलाली । सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय ३१ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पूर्ण मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका सात लाख ३२ हजार सात सय ८९ जना छन् । सबैभन्दा कम दार्चुलामा एक लाख १४ हजार ६ सय २८ ले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।
प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने दश लाख १५ हजार ३७ रहेको छ । प्रदेशमा कोरोना भाइरसविरुद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा लगाउनेको सङ्ख्या भने २९ हजार आठ सय ५६ रहेको निर्देशनालयले जनाएको छ ।
बैतडीमा भने एकजनाले पनि कोरोना भाइरसविरुद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा नलगाएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए। जिल्लामा केही दिनमै चौथो मात्रा दिइने अभियान सञ्चालन गरिने लेखकको भनाइ छ ।
सुदूरपश्चिममा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोन्सन एन्ड जोन्सन, फाइजर, मोडर्ना खोप लगाइएको हो । प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने अभियन जारी रहेकाले खोप लगाउन बाँकी सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।
सुदूरपश्चिममा विसं २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको अभियान सुरु गरिएको थियो । प्रदेशसमा हालसम्म ६ लाख ४६ हजार सात सय तीनजनाको कोरोना परीक्षण गरिएको छ जसमध्ये ६१ हजार नौ सय ५५ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।
भारतसँग सीमा जोडिएको यस प्रदेशमा दैनिक कोरोना सङ्क्रमण बढ्दै छ । सङ्क्रमण देखिने अधिकांश भारतबाट फर्किएका यहाँ जोखिम बढ्दै गएको छ । प्रदेशका सबै सीमानाकाहरुमा हेल्थ डेस्क स्थापना गरिएको र अनिवार्य कोरोना परीक्षण गराएर मात्रै भित्रिन दिइएको छ । सङ्क्रमणको जोखिम बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले आग्रह गरेको छ ।
डब्लुएचओले भन्यो -जाडो मौसममा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्न सक्छ
जेनेभा। विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ ।
हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको भन्दै तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिडका सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने जनाएको छ ।
यसका साथै कोभिडका सङ्क्रमितको मृत्यु दर तथा उनीहरू अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने पनि विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँगको कुराकानीका क्रममा सो कुरा बताउनुभएको छ ।
उहाँले भन्नुभएको थियो ‘‘हामीले अहिले कोरोना भाइरसको घट्दो दरका साथमा यसको स्वागत गरिरहेका छौँ तर अबका दिनमा आउने चिसो मौसममा भने यस सङ्क्रमणको असर अझ बढी देखिन सक्छ, हामी अहिलेदेखि नै यसका लागि तयार रहनुपर्दछ ।’’
विश्वमा यसको सङ्क्रमणको पछिल्लो अवस्था हेर्दा घट्दै गएको तथ्याङ्कले देखाउँछ ।
साप्ताहिकरुपमा गरिने यसको गणनाअनुसार पछिल्लो हप्तामा यसको सङ्क्रमण ५३ लाख मानिसमा भएको देखिएको छ ।
यो सङ्ख्या यो भन्दा अघिल्लो हप्ताको तुलनामा नौ प्रतिशतले कम हो । त्यसैले अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको भनेर यसको स्वागत गरेर बस्नुभन्दा पनि आगामी जाडो मौसममा हुनसक्ने यसको असरलाई मध्यनजर गरेर सतर्कता अपनाउनुपर्ने महानिर्देशक ग्याबे्रसियसले बताउनुभएको छ । सिन्ह्वा
बेसद्वारा बर्दगोरियामा कोभिड–१९ खोपका लागि समुदाय परिचालन परियोजनाका बारेमा छलफल
बर्दगोरिया । कोरोना भाइरस (कोभिड–१९ )खोपका लागि समुदाय परिचालन परियोजना कार्यान्वयनका सन्दर्भमा बर्दगोरियामा सरोकारवाला निकायसंग छलफल भएको छ ।
कोभिड -१९ खोपको कभरेज सत प्रतिशत पुर्याउने नेपाल सरकारको योजनालाई सहयोग गर्ने लक्ष्यका साथ ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) ले बर्दगोरिया गाउँपालिकासहित ७ स्थानीय तहमा समुदाय परिचालन परियोजनाको कार्य गर्नेछ । सोही अनुरुप बुधबार बर्दगोरियामा छलफल गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीको आर्थिक सहयोग , जिआईजेडको स्वास्थ्य क्षेत्र कार्यक्रम अन्तर्गत बेसले कैलालीको बर्दगोरिया, जानकी , लम्कीचुहा ,टीकापुर, भजनी ,जोशीपुर र मोहन्यालमा कोभिड–१९ खोपका लागि समुदाय परिचालन परियोजनाको काम गर्ने जनाईइएको छ ।
कार्यक्रम अन्तर्गत यी स्थानीय तहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरु संग समन्वय गरि कोभिड–१९ विरुद्धको खोप अभियान बारे समुदायलाई जानकारी गराउने, परिचालन गर्ने र गतिविधिहरुलाई तिब्र पार्ने उद्देश्य राखिएको ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) का कार्यक्रम संयोजक लक्ष्मण चौधरीले जानकारी दिए ।
चौधरीकाअनुसार उक्त परियोजनाको कार्यक्रम कार्यान्वयन पश्चात समुदायमा कोभिड–१९ को खोप कभरेजमा वृद्धि हुने अपेक्षा गरिएको छ् । जुलाई २५ तारिखदेखि लागु भएको परियोजनाले यसै वर्षको डिसेम्बर १० तारिखसम्म काम गर्नेछ । यसैगरी पालिका स्तरीय परियोजना जानकारी तथा शुभारम्भ बैठक, स्थानीय पालिकाहरुमा परियोजनाको जानकारी तथा कार्ययोजना निर्माण बैठक सञ्चालन पश्चात् महिला स्वास्थ्य स्वंयम् सेविकाहरुलाई अभिमुखीकरण, मासिक समीक्षा बैठक, कोभिड १९ को जानकारी तथा भ्याक्सिनको बारेमा संचारमाध्यमबाट प्रचारप्रसार, समुदाय परिचालन गतिविधिहरु तथा प्रचार–प्रसार, खोप कार्यमा सहयोग, नियमित अनुगमन र सुपरिवेक्षण तथा पूर्ण कोभिड १९ भ्याक्सिन पालिकामा सहयोग लगाएतका क्रियाकलाप परियोजनाले गर्ने कार्यक्रम संयोजक चौधरीले बताए ।
बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्य शाखा र पालिका भित्रका स्वास्थ्य संस्थाहरुका प्रतिनिधिहरु, सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कोभिड १९ विरुद्धको खोपको अवस्था, खोप लगाएका व्यक्तिहरुको तथ्यांक र खोप लगाउन बाँकी नागरिकहरुलाई खोप प्रदान गर्ने रणनीतिका बारेमा छलफल समेत गरिएको छ् ।
कार्यक्रममा जिल्लाभर लक्षित उमेर समूहका नागरिकहरु मध्ये पहिलो मात्रा खोप ९३.५ प्रतिशत, दोस्रो मात्रा खोप ७९.४ प्रतिशत र तेस्रो मात्रा खोप ३६.१ प्रतिशतलाई प्रदान गरिएको जानकारी गराईएको थियो । जसमा बर्दगोरिया गाउँपालिकामा पहिलो मात्रा खोप लाउने ८८.३ प्रतिशत,दोस्रो मात्रा खोप लाउने ७४.२ प्रतिशत र बुस्टर डोज लाउने ३२.७ प्रतिशत रहेको बारे जानकारी गराइएको छ ।
कार्यक्रमको संचालन बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नृप विष्टले गरेका थिए ।
काठमाडौँ । पछिल्ला केही सातादेखि कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ज्येष्ठ नागरिकका लागि दोस्रो बुस्टर डोज तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एक अधिकारीका अनुसार पहिलो चरणमा ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकाका लागि बुस्टर डोज दिने योजना छ ।
दोस्रो बुस्टर डोज दिने विषयमा छलफल भइरहेको छ,’ ती अधिकारीले भने, ‘निर्णय भने गर्न बाँकी छ, कुन समूहलाई पहिलो प्राथमिकता दिने भन्ने विषयमा छलफल भइरहेको छ ।’ पछिल्लो समय अस्पताल भर्ना हुनेको संख्या पनि बढिरहेको र संक्रमणसँगै मृत्युदरसमेत बढिरहेकाले दोस्रो बुस्टर डोजको विकल्प’दयगत छलफल भएको ती अधिकारीले बताए।
पछिल्लो एक महिनाको अवधिमा कोरोना सङ्क्रमणबाट मृत्यु भएमध्ये ७५ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । एक महिनाको तथ्याङ्क हेर्दा मृत्यु भएकामध्ये १५ जनाले कोरोना खोप नलगाएको भेटिएको छ ।
काठमाडौँ । चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई सङ्क्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमुनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ ।
यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बन्धित रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरूको भनाइ छ ।
सङ्क्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन ।
यो सङ्क्रमणबाट अहिलेसम्म चीनमा ३५ जना सङ्क्रमित भएको जनाइएको छ । अहिले विश्वभर महामारीको स्वरूप लिएको कोभिड १९ सर्वप्रथम चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको थियो ।
नेपालमा थप ६६० जनामा कोरोना पुष्टि, एकको मृत्यु
काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १ हजार ९४२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय २६ जना र २ हजार ७४० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३४ हजार १८५ पुगेको छ ।
योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५६ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ६४१ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।
त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७१ पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ४४ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७२ हजार ०६४ पुगेको छ ।
बैतडी । बैतडीमा हालसम्म एक लाख ७८ हजार एक सय २० जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार जिल्लाभरि ९७ हजार छ सय १९ जनाले बुस्टर डोज लगाएका छन् । दशरथचन्द नगरपालिकामा २८ हजार सात सय २८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार नौ सय ४१ जनाले पूर्ण मात्रा लगाएका छन् । दशरथचन्द नगरपालिकामा २८ हजार २२५ जनाले बुस्टर डोज लगाएका छन् ।
यस्तै पाटन नगरपालिकामा २० हजार पाँच सय २८ जनाले खोपको पहिलो मात्रा, २७ हजार नौ सय २९ जनाले पूर्ण खोप तथा १५ हजार नौ सय ११ जनाले बुस्टर डोज लगाएका छन् । पुर्चौंडी नगरपालिकामा २३ हजार छ सय २१ जनाले खोपको पहिलो मात्रा, २३ हजार छ सय ४४ जनाले पूर्ण खोप र १३ हजार छ सय १२ जनाले बुस्टर डोज लगाएका छन् ।
यसैगरी मेलौली नगरपालिकामा १४ हजार २१ जनाले खोपको पहिलो मात्रा, १२ हजार ६१ जनाले पूर्ण खोप र छ हजार दुई सय दुई जनाले बुस्टर डोज, डिलाशैनी गाउँपालिकामा १९ हजार छ सय ८५ जनाले खोपको पहिलो मात्रा, १३ हजार आठ सय ९६ जनाले खोपको पूर्ण मात्रा र आठ हजार २५ जनाले बुस्टर डोज तथा दोगडाकेदार गाउँपालिकामा २३ हजार दुई सय ३६ जनाले खोपको पहिलो मात्रा, १६ हजार नौ सय ४२ जनाले खोपको पूर्ण मात्रा र छ हजार आठ सय ९५ जनाले बुस्टर डोज लगाएका छन् ।
सुर्नया गाउँपालिकामा १० हजार तीन सय १२ जनाले खोपको पहिलो मात्रा, १० हजार आठ सय ८३ जनाले खोपको पूर्ण मात्रा र पाँच हजार आठ सय ९५ जनाले बुस्टर डोज, पञ्चेश्वर गाउँपालिकामा १९ हजार १३ जनाले खोपको पहिलो मात्रा, १३ हजार पाँच सय ५४ जनाले पूर्ण खोप र पाँच हजार २३० जनाले बुस्टर डोज लगाएका छन् ।
यस्तै शिवनाथ गाउँपालिकामा आठ हजार आठ सय २७ जनाले खोपको पहिलो मात्रा, ११ हजार दुई सय ५१ जनाले पूर्ण खोेप र चार हजार नौ सय ९८ जनाले बुस्टर डोज लगाएका छन् । सिगास गाउँपालिकामा नौ हजार ३३२ जनाले खोपको पहिलो मात्रा, ११ हजार सात सय १९ जनाले पूर्ण खोप र दुई हजार छ सय २५ जनाले बुस्टर डोज लगाएका छन् ।
जिल्लामा हाल कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी छ । यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार तीन सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहाँ १९ जनाले ज्यानसमेत गुमाइसकेका छन् ।
थपिएन कोरोनाकालका स्वास्थ्यकर्मीको म्याद
काठमाडौं । कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ ।
वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पतालमा यस्तो समस्या देखिएको छ । करारमा रहेका जनशक्तिले नै धानिरहेको वीर अस्पतालमा जनशक्ति कम हुँदा आईसीयू भेन्टिलेटर सञ्चालनमा समस्या परेको वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले बताए ।
उनले करारमा राखिएका स्टाफ नर्स हटाउने हो भने आईसीयू मात्र नभई अस्पतालका अन्य स्वास्थ्य सेवा पनि बन्द हुने बताए ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
कोरोनाको उपचारका लागि तोकिए यी १७ अस्पतालहरु
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका १७ सङ्घ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश नं १ को कोसी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्ज रहेका छन् ।
यस्तै बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बागलुङ रहेका छन् ।
यस्तै लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर तथा सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पताल रहेका छन् ।